Modern technology gives us many things.

रिलायन्स सुगर मिलको फोहर पानी तत्काल रोक्न युवा नेता दुबेको कडा आग्रह

बारा, १९ पौष
बारा जिल्लास्थित रिलायन्स सुगर मिलबाट निस्किने फोहर तथा प्रदूषित पानीका कारण मानव स्वास्थ्य र वातावरणमा गम्भीर असर परिरहेको भन्दै युवा नेता उमेश दुबेले मिल सञ्चालकहरूलाई तत्काल त्यसको व्यवस्थापन गर्न कडा आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै दुबेले चिनी मिलबाट निस्किने फोहर पानी बंगरी नदी हुँदै ब्राह्मपुरी, बन्जरिया, बेलहिया, गोइँठही, भलुही, मंगढवा र अकवनिया क्षेत्र पार गर्दै त्रिवेणीस्थित दुधौरा नदीमा मिसिने गरेको बताएका छन्। यसले नदी, जमिन, कृषि उत्पादन तथा स्थानीय बासिन्दाको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पारिरहेको उनको भनाइ छ।
फेटा गाउँपालिका अध्यक्ष पदका भावी उम्मेदवार तथा जनमत पार्टीका केन्द्रीय सदस्य समेत रहेका दुबेले फोहर पानीका कारण दुर्गन्ध फैलिनुका साथै पशुचौपाया र माछा मर्न थालेको, खानेपानीको स्रोत दूषित भएको र स्थानीय बासिन्दा विभिन्न रोगको जोखिममा परेको उल्लेख गरेका छन्।
मिल सञ्चालक तथा सम्बन्धित सरोकारवाला निकायहरूलाई यस विषयमा पटक–पटक जानकारी गराइँदै आएको भए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिनु अत्यन्तै बिडम्बनापूर्ण भएको दुबेको आरोप छ। “उद्योग सञ्चालन गर्दा वातावरणीय मापदण्ड पालना गर्नु अनिवार्य हुन्छ, तर यहाँ खुलेआम प्रदूषण फैलाइँदै छ,” उनले भनेका छन्।
दुबेले यथाशीघ्र चिनी मिलबाट निस्किने प्रदूषित पानी पूर्ण रूपमा रोक्न, आवश्यक प्रशोधन संयन्त्र (ट्रिटमेन्ट प्लान्ट) जडान गर्न तथा प्रभावित क्षेत्रको अनुगमन गर्न माग गरेका छन्। माग सम्बोधन नभए स्थानीय जनताको सहभागितामा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि उनले दिएका छन्।
यसैबीच, उनले जिल्ला प्रशासन कार्यालय बारा, वातावरण संरक्षणसँग सम्बन्धित निकाय, स्थानीय तह तथा सरोकारवाला सबै पक्षको ध्यानाकर्षण गराउँदै तत्काल छानबिन र आवश्यक कारबाहीको अपेक्षा व्यक्त गरेका छन्।
स्थानीय बासिन्दाहरूले पनि चिनी मिलबाट भइरहेको प्रदूषण रोक्न सम्बन्धित निकायले चाँडो पहल गर्नुपर्ने माग गर्दै आएका छन्।
Leave A Reply

Your email address will not be published.