थप १८ भन्सार कार्यालयमा अनलाइन भ्यालुएसन प्रणाली
स्वचालित जाँचपास भन्सार प्रणाली (आसिकुडा) सञ्चालनमा रहेका देशभरका थप १८ भन्सार कार्यालयमा अब अनलाइन भ्यालुएसन प्रणाली पनि सुरु भएको छ । योसँगै वास्तविक कारोबार मूल्यका आधारमा भन्सार जाँचपास हुने ‘अनलाइन भ्यालुएसन डेटाबेस सिस्टम’ लागू हुने कार्यालयको संख्या २९ पुगेको छ ।
भन्सार विभागअन्तर्गत हाल ४० वटा मूल तथा एक सय ३३ वटा छोटी भन्सार कार्यालय छन् । त्यसमध्ये २९ भन्सार कार्यालय स्वचालित प्रणालीमा आधारित छन् । त्यसमध्ये सन्दर्भ मूल्यको सट्टा कारोबार मूल्यमा भन्सार जाँचपास हुने कार्यालय ११ वटा रहेका थिए । शुक्रबारबाट थप १८ कार्यालयमा यस्तो प्रणाली सुरु भएको भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताए । व्यवसायीले तिरेको वा तिर्नुपर्ने वास्तविक कारोबारका आधारमा भन्सार जाँचपास हुने हुँदा यसले समग्र अर्थतन्त्रलाई पारदर्शी बनाउने उनको भनाइ छ । ‘विगतमा सन्दर्भ मूल्यसूचीका आधारमा भन्सार जाँचपास हुँदा वास्तविक मूल्यांकन नहुने र बजारसम्म पुग्दा बिलबिजकमै फरक पर्ने देखिएको थियो,’ उनले भने, ‘अब कारोबारमा आधारित भन्सार जाँचपास भएपछि मूल्यांकन यथार्थ हुनेछ, व्यवसायीहरू पारदर्शी हुनेछन्, समग्रमा अर्थतन्त्र पारदर्शी हुनेछ ।’
अर्थमन्त्री रामेश्वार खनालले शुक्रबार अनलाइन भ्यालुएसन प्रणालीको भर्चुअल उद्घाटन गर्दै यससँगै विश्व व्यापार संगठनको भन्सार मूल्यांकनसम्बन्धी सम्झौता पूर्ण रूपमा लागू हुन सकेको बताए ।
‘लामो समयपछि भन्सारमा जिएटिटी भ्यालुएसन सिस्टम पूर्ण रूपमा लागू भएको छ, अब सन्दर्भ मूल्यको सट्टा कारोबार मूल्यमा जाँपास हुनेछ,’ उनले भने, ‘वस्तुको मूल्य बजारले निर्धारण गर्ने हुँदा सोहीअनुसार प्रक्रियागत सरलीकरण गरिएको हो ।’
अर्थमन्त्री खनालले अनलाइन भ्यालुएसन प्रणाली सुरु भएसँगै निजी क्षेत्रले नक्कली बिलबिजक जारी गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । यही परिवर्तनअनुसार व्यवसायीहरू पनि वास्तविक कारोबार र सही कागजात मात्र पेस गरी इमानदार हुनुपर्ने उनले बताए । आगामी दिनमा भन्सारलाई उत्पादन र निर्यातमा आधारित अर्थतन्त्र निर्माणको मेरुदण्डका रूपमा विकास गरिनुपर्नेमा उनले जोड दिए ।
राजस्व सचिव भूपाल बरालले प्रणाली विकास र कार्यान्वयनको मात्रै नभई पात्र र प्रवृत्तिमा समेत सुधार हुनुपर्ने बताए । उनले राजस्व चुहावट नियन्त्रण, सदाचारिता र व्यावसायिकतामा जोड दिए । विभागका महानिर्देशक भण्डारीले व्यापार सहजीकरण, राजस्व संकलन र प्रविधिको विस्तारमा विभाग निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी भन्छन्–
व्यवसायीले तिरेको वा तिर्नुपर्ने वास्तविक कारोबारका आधारमा भन्सार जाँचपास हुने हुँदा यसले समग्र अर्थतन्त्रलाई पारदर्शी बनाउँछ । विगतमा सन्दर्भ मूल्यसूचीका आधारमा भन्सार जाँचपास हुँदा वास्तविक मूल्यांकन नहुने र बजारसम्म पुग्दा बिलबिजकमै फरक पर्ने देखिएको थियो, अब कारोबारमा आधारित भन्सार जाँचपास भएपछि मूल्यांकन यथार्थ हुनेछ ।