Modern technology gives us many things.

त्रिशूली नदीमा नुहाउने क्रममा हाइड्रोपावरका दुई कामदार बेपत्ताः गोताखोर परिचालन गरी खोजी तीव्र

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाट नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत दुईजना कामदार बेपत्ता भएका छन्। शनिबार दिउँसो झोलुङ्गे पुल नजिकै नदीमा पसेका बर्दियाका २१ वर्षीय शंकर चौधरी र २२ वर्षीय सौरभ थारु हालसम्म फेला पर्न सकेका छैनन् ।

नदी किनारमा उनीहरूका कपडा, मोबाइल, चप्पल र लाइटर फेला परेपछि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेका थिए। शनिबार साँझसम्म फेला नपरेपछि आइतबार बिहानैदेखि पुनः खोजी कार्यलाई तीव्रता दिइएको चितवन प्रहरीले जनाएको छ।

बेपत्ता युवाहरूको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनघाटबाट विशेष गोताखोरसहितको टोली परिचालन गरिएको छ। घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोली र गोताखोरहरूले नदीको विभिन्न क्षेत्रमा खोजी गरिरहेका छन् । बेपत्ता चौधरी बर्दियाको गेरुवा गाउँपालिका र थारु राजापुर नगरपालिकाका बासिन्दा हुन्। हाइड्रोपावर निर्माणमा खटिएका दुवै युवाहरू गर्मी छल्न नदीमा पसेको अनुमान गरिएको छ, तर नदीको तीव्र बहावका कारण उनीहरू बेपत्ता भएको आशंका गरिएको छ ।

हाल घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयको बाक्लो उपस्थिति रहेको छ भने गोताखोर टोलीले नदीको गहिराइसम्म पुगेर खोजी जारी राखेको छ । घटनाले हाइड्रोपावरमा कार्यरत अन्य कर्मचारी र स्थानीयबासीलाई स्तब्ध तुल्याएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र बेपत्ताको खोजीका लागि सबै सम्भावित उपायहरू अवलम्बन गरिएको जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.