लागुऔषध गाँजासहित एक जना पक्राउ, कार र मोटरसाइकल नियन्त्रणमा
सर्लाही, पुस २०
सर्लाही प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–३ जंगल टोल क्षेत्रमा सवारीसाधन चेकजाँचका क्रममा गाँजा बरामद गरिएको हो।
प्रहरीका अनुसार मिति २०८२ पुस २० गते बिहान करिब ५ बजे भारतबाट लालबन्दीतर्फ आउँदै गरेको BR 02 PB 2226 नम्बरको भारतीय नम्बर प्लेट भएको खैरो रंगको माराजो M2 कार र बागमती प्रदेश ६–०२ प ५७५० नम्बरको रातो–कालो रंगको १२५ सीसी TVS Raider मोटरसाइकललाई इलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट खटिएको चेकिङ प्रहरी टोलीले रोकेर जाँच गरेको थियो।
चेकजाँचको क्रममा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–३ नवलपुर बस्ने वाजुल साहका छोरा वर्ष ३२ का नुरहसन साहले शंकास्पद व्यवहार देखाउँदै तीव्र गतिमा भाग्ने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा माथि उल्लेखित भारतीय नम्बरको कारमा प्रतिबन्धित लागुऔषध गाँजा रहेको सूचना प्राप्त भएपछि तत्काल इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप प्रहरी टोली खटिएको थियो।
प्रहरीले लालबन्दी नगरपालिका–३ जंगल टोलस्थित लालबाबु महतोको घर अगाडि पार्क गरी राखिएको उक्त कार चेकजाँच गर्दा सिट पछाडिको भागमा लुकाइछिपाइ राखिएको १५ पोकामा प्याक गरिएको करिब ६० केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको जनाएको छ।
बरामद गरिएको गाँजा, प्रयोग गरिएको कार, मोटरसाइकल र मोटरसाइकल चालक नुरहसन साहलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ८ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।