वीरगन्जमा करारका कम्प्युटर अपरेटरको नियमविपरीत अधिकृतमा बढुवा
वीरगन्ज महानगरपालिका कार्यालयले सूचना प्रविधि शाखामा कार्यरत करार सेवाका कर्मचारीलाई अधिकृत तहमा बढुवा गरेको पाइएको छ।
वीरगन्ज– १६ निवासी सुजितकुमार श्रीवास्तवलाई महानगरपालिकाले चौथो तहबाट एकैपटक सातौँ तहको अधिकृतमा बढुवा गरेको हो।
महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले ०७६ सालमा कम्प्युटर अपरेटरमा भर्ना भएका श्रीवास्तवलाई पुस १ गतेको निर्णयअनुसार अधिकृत तहमा बढुवा पत्र दिएका छन्।
कर्ण निमित्त प्रशासकीय अधिकृतमा नियुक्त भएकै समयदेखि नातागोता र आफन्तलाई नियमविपरीत भर्ना र बढुवामा लागेका कर्मचारी स्रोतको आरोप छ। यसअघि पनि उनले महानगरको विभिन्न शाखामा आधा दर्जन आफन्तको भर्ना गराएको समाचार बाहिरिएको थियो।
यता वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णलाई पटकपटक फोन गर्दा सम्पर्कमा आउन चाहेनन्।
सूचना अधिकारी सुनीलकुमार कर्णले उक्त शाखामा अधिकृत तहमा कर्मचारी अभाव रहेकाले बढुवा गरिएको बताए। कर्मचारी भर्ना र बढुवाका सबै प्रक्रिया पूरा गरेर कार्यालयमै कार्यरत कर्मचारीको बढुवा गरिएको उनको जिकिर छ।