पुल्चोक क्याम्पसको आइसीटी भवन प्रयोगबारे अख्तियारको अनुसन्धान सुरु
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा रहेको सूचना तथा सञ्चार प्रविधि केन्द्र भवनको प्रयोगबारे अनुसन्धान सुरु गरेको छ ।
स्रोतकाअनुसार अख्तियारले भवनको व्यवस्थापन, प्रयोग र आर्थिक विवरणसम्बन्धी कागजात सङ्कलन गरिरहेको जनाएको छ ।
उक्त भवन तथा पूर्वाधारलाई शैक्षिक प्रयोजनभन्दा बाहिर व्यावसायिक तथा व्यापारिक गतिविधिमा प्रयोग गरिएको आशङ्कामा अनुसन्धान थालिएको अख्तियार एक उच्च अधिकारीले बताए । उनकाअनुसार आर्थिक दुरुपयोग गरेको हुन सक्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।
पुल्चोक क्याम्पसमा रहेको सूचना तथा सञ्चार प्रविधि केन्द्र भवन कोरियाली सरकारको सहयोगमा निर्माण गरिएको हो ।
यो भवन नेपाली इन्जिनियरिङ विद्यार्थीहरूको अध्ययन, प्रयोगशाला र शैक्षिक प्रयोजनका लागि प्रयोग गर्ने उद्देश्यले सहयोग प्राप्त भएको बताइएको छ। यद्यपि क्याम्पस प्रशासनले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।