Modern technology gives us many things.

नेपाली कांग्रेस बारा द्वारा प्रेस विज्ञप्ति जारी

कलैया । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको विधान व्यवस्था अनुसार “महाधिवेशन” वा “विशेष महाधिवेशन” बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट गरेको छ। पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा यस्ता महाधिवेशन वा विशेष महाधिवेशनको नाममा गतिविधि गरेमा त्यो पार्टी विधान विपरीत हुने भन्दै नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिले सचेत गराएको छ।

जिल्ला कार्यसमिति बारा, बी.पी. स्मृति भवन कलैया बाराबाट जारी प्रेस विज्ञप्तिमा पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई विधान विपरीतका गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ।

त्यसैगरी, विज्ञप्तिमा मिति २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य तथा मिति २०८२ फाल्गुण २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारहरूलाई विजयी गराउन जिल्ला, प्रतिनिधिसभा क्षेत्र, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भ्रातृ एवं शुभेच्छुक संस्था लगायत सम्पूर्ण सदस्यहरूलाई एकताबद्ध भई सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।

नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिका सभापति राजेश राय यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको संगठन मजबुत बनाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सबै नेता तथा कार्यकर्तालाई जिम्मेवार बन्न आह्वान गरिएको छ।

Leave A Reply

Your email address will not be published.