Modern technology gives us many things.

प्रदेशिक अस्पताल पोखरियाको उद्घाटन, मुख्यमन्त्री यादवद्वारा पूर्ण सहयोगको प्रतिबद्धता

पर्सा, २६ पौष
पर्सा जिल्लाको दोस्रो सदरमुकामका रूपमा परिचित पोखरियामा निर्माण सम्पन्न प्रदेशिक अस्पताल पोखरियाको शनिबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादव र मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल यादवले संयुक्त रूपमा शिलालेख अनावरण गर्दै अस्पतालको औपचारिक उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री यादवले प्रदेशिक अस्पताल पोखरियाको विकास र सुदृढीकरणका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले मधेश प्रदेशअन्तर्गतका अस्पतालहरूमा मेडिकल सुपरिटेन्डेन्ट, डाक्टर तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापनका लागि सरुवा प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै सरुवा भएको स्थानमा नजाने स्वास्थ्यकर्मीमाथि कारबाही गर्न मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री यादवले वीरगञ्ज वरपरका जनताले सहज रूपमा स्वास्थ्य सेवा पाए पनि पश्चिम क्षेत्रका नागरिकलाई महँगो र टाढाको स्वास्थ्य सेवा लिन बाध्य हुनुपरेको अवस्थालाई मध्यनजर गर्दै पोखरियास्थित प्रदेशिक अस्पताललाई सक्षम, प्रभावकारी र जनमैत्री बनाउन विशेष ध्यान दिइने बताउनुभयो । भौतिक पूर्वाधार, दक्ष चिकित्सक, आवश्यक उपकरण र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गरी यस क्षेत्रका नागरिकलाई सहज सेवा उपलब्ध गराउने उहाँको भनाइ थियो ।
उहाँले मधेश प्रदेशमा चारवटा प्रदेशिक अस्पतालको अवधारणा प्रदेश सरकारको बैठकबाट पारित भइसकेको जानकारी दिँदै तीमध्ये पोखरिया अस्पताल पनि समावेश भएकाले यसको विकासका लागि प्रदेश सरकारबाट निरन्तर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै पोखरिया क्षेत्रको समग्र विकासका लागि प्रस्तावित टाउन हल र स्टेडियम निर्माणका लागि विनियोजित बजेटलाई बहुवर्षीय योजनामा राखी सम्पन्न गरिने पनि घोषणा गर्नुभयो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल यादवले अब प्रदेशिक अस्पताल पोखरियालाई आधुनिक प्रविधिमैत्री मोडल अस्पतालको रूपमा विकास गरिने बताउनुभयो । बाहिरका निजी अस्पतालसरह सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदेशिक अस्पताल पोखरियाबाट प्रदान गरिने उहाँको प्रतिबद्धता थियो । उहाँले यस अस्पताललाई नमुना अस्पताल बनाउने दिशामा मन्त्रालयले सक्दो सहयोग गर्ने स्पष्ट पार्नुभयो ।
उद्घाटन कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, मधेश प्रदेशका कृषि मन्त्री श्याम प्रसाद पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पूर्व कृषि मन्त्री एवं प्रदेश सांसद जनार्दन क्षेत्री, पूर्व खेलकुद मन्त्री प्रमोद जयसवाल, मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव प्रमोद यादव, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, पोखरिया नगरप्रमुख प्रद्युम्न चौहान, पूर्व नगरप्रमुख दिपनारायण रौनियार, पूर्व उपप्रमुख सलमा खातुन, नेता नजामुदिन समानी, राजु साह, पनालाल पटेल तथा प्रदेशिक अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्ट आनन्द रौनियारलगायतले मन्तव्य राख्दै अस्पताल तथा क्षेत्रीय विकासका समस्या र सम्भावनाबारे धारणा व्यक्त गरेका थिए ।
वक्ताहरूले प्रदेशिक अस्पताल पोखरियाको उत्तरोत्तर प्रगतिको कामना गर्दै यसले क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य सह–संयोजक शिव पटेलले गर्नुभएको थियो ।
Leave A Reply

Your email address will not be published.