विश्रामपुर गाउँपालिकाको १८औँ गाउँ सभा सम्पन्न
कलैया , २६ पौष
विश्रामपुर गाउँपालिकामा १८ औँ गाउँ सभा गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटोको अध्यक्षतामा सम्पन्न भएको छ। सभा कार्यक्रममा उपाध्यक्ष श्रीमती प्रियंका देवी, गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत सुनील प्रसाद केशरी, सबै वडाका वडा अध्यक्षहरू, सभा सदस्य तथा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, गाउँ प्रहरीहरू र गाउँपालिकाका भद्रभलादमीको उपस्थिति रहेको थियो।
सभामा वर्षभरिका गतिविधि, विकास योजनाहरू र बजेटको समीक्षा तथा आगामी वर्षका कार्यक्रमका बारेमा छलफल भएको थियो। अध्यक्ष भुटोले गाउँपालिकामा विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य, कृषि र पूर्वाधारसम्बन्धी कामहरू व्यवस्थित रूपमा अगाडि बढाइँदै आएको जानकारी दिनुभयो। उहाँले गाउँपालिकाका विकास कार्यक्रमलाई अझ प्रभावकारी बनाउने तथा जनप्रतिनिधि, कर्मचारी र समुदायबीच सहकार्य बढाउनेमा जोड दिनुभयो।
Related Posts
उपाध्यक्ष प्रियंका देवीले पनि कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक सहभागिता, महिला सशक्तिकरण र विकास कार्यक्रममा पारदर्शिता कायम राख्ने महत्त्वबारे चर्चा गर्नुभयो।
सभामा प्रमुख प्रशासनिक अधिकृत सुनील प्रसाद केशरीले वार्षिक कामको समीक्षा प्रस्तुत गर्दै बजेटको प्रभावकारी व्यवस्थापन र आगामी वर्षका लक्ष्यबारे जानकारी गराउनुभयो। साथै प्रत्येक वडाका अध्यक्षहरूले आफ्ना स्थानीय आवश्यकता, समस्या र आगामी योजनाबारे प्रतिवेदन पेश गरेका थिए।
कार्यक्रममा उपस्थित सहभागीहरूले गाउँपालिकाको विकास, सेवा प्रवाह र जनसहभागितालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी वर्षमा अझ धेरै कार्यक्रमहरू संचालन गर्ने र समुदायको हितमा काम गर्ने साझा निर्णयमा पहुँच गरेका छन्।