जगतपुरमा जलवायु परिवर्तनबारे संवाद कार्यक्रम सम्पन्न
फेटा गाउँपालिका–२ स्थित जगतपुर टोलको एक विद्यालयमा सामाजिक परिवर्तन केन्द्रको सहकार्यमा जलवायु परिवर्तनका कारण तथा यसले मानव जीवन र कृषि क्षेत्रमा पार्ने प्रभाव विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ।

फेटा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नरेश पटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य, स्थानीय बासिन्दा, कृषक, पत्रकार तथा फेटा गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाका प्राविधिक सन्जय कुश्वाहा लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा जगतपुरका किसान, स्थानीय बासिन्दा र जनप्रतिनिधि गरी करिब ५७ जनाको सहभागिता रहेको थियो।
संवादका क्रममा सहभागीहरूले जलवायु परिवर्तनका कारण खानेपानीका मुहान सुक्दै जानु, समयमा वर्षा नहुनु, खेतीमा रोग–किराको प्रकोप बढ्नु, कृषिउत्पादन घट्नु, नदी–नालाका मुहान सुक्नु तथा महिलामा छाला सम्बन्धी विभिन्न रोग देखिनु जस्ता समस्या बढ्दै गएको बताएका थिए।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष नरेश पटेलले उद्योग, यातायात, इँटा भट्टा, कोइला तथा इन्धनको अत्यधिक प्रयोग जलवायु परिवर्तनका प्रमुख कारण भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार मानव क्रियाकलापबाट निस्कने प्रदूषक तत्वहरूले वातावरणमा गम्भीर नकारात्मक असर पार्दै आएका छन्।

कृषि तथा पशुपालन क्षेत्र पनि हरितगृह ग्यास उत्सर्जनको महत्वपूर्ण स्रोत बन्दै गएको उल्लेख गर्दै कृषि प्राविधिक सन्जय कुश्वाहाले धान खेती, गाईवस्तु पालन तथा रासायनिक मलको प्रयोगबाट मिथेन र नाइट्रस अक्साइड ग्यास उत्सर्जन हुने जानकारी दिनुभयो। उहाँका अनुसार गोबरको उचित व्यवस्थापन नहुँदा मिथेन ग्यासको उत्सर्जन बढ्दै गएको छ, जसको ग्लोबल वार्मिङ पोटेन्सियल कार्बन डाइअक्साइडभन्दा करिब २८ गुणा बढी रहेको छ। साथै, बाली अवशेष जलाउने अभ्यास, वन विनाश तथा भारी कृषि उपकरणमा इन्धनको प्रयोगले पनि जलवायु परिवर्तनलाई थप तीव्र बनाइरहेको उहाँले बताउनुभयो।

संवाद कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न वैकल्पिक उपायहरू अपनाउने, प्राकृतिक स्रोतको संरक्षण गर्ने तथा वातावरणमैत्री कृषि अभ्यास प्रवर्द्धन गर्ने विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिकी कुश्वाहाले जलवायु परिवर्तन जस्तो दीर्घकालीन समस्याको समाधानका लागि सामुदायिक सहभागिता नै मुख्य आधार भएको बताउनुभयो। उहाँले स्थानीय तह, समुदाय र सरोकारवालाबीच सहकार्य, नीति तथा प्रविधिसहित समुदायको सक्रिय सहभागितामा दिगो कृषि तथा पशुपालन अभ्यास अपनाउनु अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। यसले स्थानीय स्तरमै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै वातावरणीय, सामाजिक तथा आर्थिक आवश्यकतालाई सन्तुलनमा राख्न सहयोग पुग्ने उहाँको भनाइ थियो।