Modern technology gives us many things.

प्रसौनी बजारमा निःशुल्क स्वास्थ्य एवं दन्त शिविर सम्पन्न

बारा , १७ माघ
प्रसौनी बजारमा निःशुल्क दन्त, सामान्य चिकित्सा र शल्यक्रिया शिविर सफलतापूर्वक सञ्चालन भएको छ। शिविरको आयोजना प्रसौनी गाउँपालिका तथा प्राविधिक सहयोग ताज डेन्टल केयर अर्थोडोन्टिक्स सेन्टर एण्ड पोलिक्लिनिकले गरेको हो।
शिविरमा सर्वसाधारणका लागि दन्त जाँच, रक्तचाप तथा मधुमेह (सुगर) जाँच, साथै स्वास्थ्य र शल्यक्रियासम्बन्धी परामर्श प्रदान गरिएको डा. कैश वारिस अन्सारीले जानकारी दिनुभयो। डा. अन्सारीका अनुसार एकै दिन सञ्चालन भएको शिविरमा करिब १२५ जना बिरामीले लाभ लिएका छन्। शिविर बिहान ९ बजे सुरु भएर दिउँसो ३ बजे सम्म चलेको थियो।
शिविरको उद्घाटन प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जयस्वालले स्वास्थ्य चौकी प्रसौनीमा गर्नुभएको थियो। अध्यक्ष जयस्वालले आगामी दिनमा गाउँपालिकाका अन्य वडाहरूमा पनि यस्ता शिविर आयोजना गर्ने उद्देश्य राखिएको जानकारी दिनुभयो।
शिविरमा दन्त रोग विशेषज्ञ डा. खुस्तर ताज अखतरी नुरानी (BDS, MDS – Bangladesh) र वरिष्ठ जनरल तथा ल्यापारोस्कोपिक सर्जन डा. कैश वारिस अन्सारी (MBBS – Pak, MS) ले सेवा प्रदान गर्नुभएको थियो।
सो अवसरमा स्वास्थ्य शाखा प्रमुख सुरेश साह, स्वास्थ्य चौकी प्रमुख राजेश साह, समाजसेवी सफिक अन्सारी लगायत अन्य स्थानीय नागरिक र समाजसेवीहरूको उल्लेख्य उपस्थिती रहेको थियो।
आयोजकहरूले शिविरले स्थानीय जनतालाई सहज, निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको बताए र यसलाई निरन्तरता दिनका लागि योजनाबद्ध कार्यक्रमहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Leave A Reply

Your email address will not be published.