Modern technology gives us many things.

प्रभु साहको चुनावी अभियान ओरालोमा ,जनसमर्थन घटेपछि र्‍यालीमा बालबालिका उतारेर आचार संहितामाथि खुला प्रहार

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा रौतहट क्षेत्र नं. ३ मा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष तथा उम्मेदवार प्रभु साहको चुनावी अभियान कमजोर बन्दै गएको स्पष्ट देखिन थालेको छ। पछिल्ला दिनहरूमा फतुवा विजयपुर नगरपालिकाका बैरगनिया, घुसुकपुर, गम्हरिया लगायतका क्षेत्रमा गरिएको घरदैलो कार्यक्रममा अपेक्षित जनसहभागिता नदेखिएपछि साहको राजनीतिक पकड खस्किँदै गएको स्थानीयहरूको भनाइ छ।

कुनै समय जिल्लामा प्रभावशाली नेताका रूपमा चिनिएका साहको अभियानमा अहिले न त उल्लेख्य भीड देखिन्छ, न त ऊर्जाशील कार्यकर्ताको सक्रियता। “पहिले चुनाव आउँदा जताततै समर्थकको भीड हुन्थ्यो, अहिले त गन्न सकिने मान्छे मात्र देखिन्छन्,” एक स्थानीय मतदाताले भने। राजनीतिक विश्लेषकहरूका अनुसार साहको अभियानबाट युवाहरू, बुद्धिजीवी वर्ग र प्रतिबद्ध कार्यकर्ताहरू क्रमशः टाढिँदै गएका छन्, जसले उनको चुनावी रणनीति नै कमजोर बनाएको छ।

जनसमर्थन घट्दै गएपछि साहको टोलीले भीड देखाउन बालबालिकालाई चुनावी र्‍याली र प्रचारमा अगाडि सार्ने प्रयास गरेको आरोप लागेको छ। सार्वजनिक रूपमा देखिएका दृश्यहरूमा नाबालक बालबालिकालाई घरदैलो, जुलुस र प्रचार कार्यक्रममा सहभागी गराइएको पाइन्छ। जबकि निर्वाचन आचारसंहिता २०८२ ले बालबालिकालाई कुनै पनि निर्वाचनसम्बन्धी गतिविधि, जुलुस वा प्रचारप्रसारमा प्रयोग गर्न स्पष्ट रूपमा निषेध गरेको छ। यसरी बालबालिकाको प्रयोग हुनु आचारसंहिताको गम्भीर उल्लंघन मात्र नभई कानुनी अपराधसमेत मानिन्छ।

राजनीतिक लाभका लागि बालबालिकालाई चुनावी औजार बनाउनु नैतिक पतनको पराकाष्ठा भएको स्थानीय नागरिक समाजका प्रतिनिधिहरूको टिप्पणी छ। “जनताको समर्थन नपाएपछि बालबालिकालाई प्रयोग गरेर शक्ति प्रदर्शन गर्नु लाजमर्दो कार्य हो,” एक सामाजिक अभियन्ताले भने। ‘बालबालिका शान्ति क्षेत्र’ भन्ने अवधारणामाथि नै प्रहार हुने यस्ता गतिविधिले निर्वाचनको स्वच्छता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।

यस घटनापछि स्थानीय स्तरमा साहको अभियानविरुद्ध चर्को असन्तोष देखा परेको छ। निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय तथा स्थानीय प्रशासनले तत्काल स्थलगत अनुगमन गरी दोषीमाथि कडा कारबाही अघि बढाउनुपर्ने माग तीव्र बन्दै गएको छ। यदि यस्ता गतिविधिमा मौनता अपनाइयो भने आचारसंहिता केवल देखाउने दाँत बन्ने र शक्तिशाली उम्मेदवारका लागि नियम लचिलो हुने सन्देश जाने नागरिकहरूको चिन्ता छ।

निर्वाचन लोकतन्त्रको उत्सव मानिन्छ। तर मतदातालाई प्रभाव पार्न बालबालिकाको दुरुपयोग र खोक्रो शक्ति प्रदर्शन गर्नु लोकतान्त्रिक मूल्य–मान्यताको उपहास भएको भन्दै सर्वसाधारणले गम्भीर आपत्ति जनाएका छन्। अब सबैको नजर सम्बन्धित निकायको कदममा केन्द्रित भएको छ—कानुन सबैका लागि समान हुन्छ कि हुँदैन भन्ने प्रश्नको जवाफ यहीँबाट तय हुने देखिन्छ।

Leave A Reply

Your email address will not be published.