नयाँ थपिएका मतदातालाई मात्र मतदाता परिचय पत्र
पौष २० काठमाडौं ____निर्वाचन आयोगले यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा नयाँ थपिएका मतदातालाई मात्र मतदाता परिचय पत्र उपलब्ध गराउने भएको छ । २०७९ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनपछि थपिएका ९ लाख १५ हजार १ सय १९ जना मतदातालाई मात्र परिचयपत्र वितरण गर्ने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । २०७९ सालको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका थिए । त्यसपछि थपिएका समेत गरी कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ पुगेको छ । पुराना मतदाताहरूलाई यसअघि नै मतदाता परिचयपत्र दिइसकेकाले यसपटक नयाँलाई मात्र परिचयपत्र दिन लागिएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ रहेको छ ।
मतदानको केही दिनअघि मतदान केन्द्रमा खटिएका कर्मचारीमार्फत परिचयपत्र वितरण गर्ने आयोगको योजना रहेको छ । हराएको वा बिग्रेको परिचयपत्र पुनः वितरण गर्न यसपटक समय नपुग्ने अवस्थाले गर्दा यसपटक नयाँलाई मात्र परिचय वितरण गर्न लागिएको हो । यद्यपि, कुनै सरोकारवाला मतदाता वा दलले मतदाता परिचयपत्र लिन चाहेमा निश्चित दस्तुरमा आयोगले सफ्ट कपी उपलब्ध गराउने गरेको छ । यसैबीच आयोगले शुक्रबारदेखि मतदाता परिचयपत्र छपाइ सुरु गरेको छ । परिचयपत्र छपाइपछि जिल्लास्थित निर्वाचन कार्यालयमा पठाइनेछ । आगामी निर्वाचनका लागि २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएका छन् । प्रत्येक मतदान केन्द्रका लागि चारवटा सेटका दरले मतदाता नामावली रहने आयोगले जनाएको छ । यसअनुसार कुल ९२ हजार ४ सय ४८ सेट मतदाता नामावली छापिनेछ ।