Modern technology gives us many things.

लुम्बिनीमा चिनियाँ गुम्बाको मनपरी, विकास कोषका पदाधिकारी नै असन्तुष्ट

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर परिसरमा कब्जा जमाएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ ।

बिहीबार केही समयका लागि दीप प्रज्वलनको अनुमति लिएर चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर परिसर नै छेकिने गरी बडेमानको स्टेज र बोर्ड राखेको भन्दै लुम्बिनी विकास कोषका केही पदाधिकारीले नै असन्तुष्टि जनाएका छन् ।
कोषका सदस्य सचिव सानुराजा शाक्यले दीप प्रज्वलन कार्यक्रमको अनुमति लिएर चिनियाँ गुम्बाले स्टेज बनाएको जानकारी दिए । उनले दुई घण्टाका लागि मात्र अनुमति लिएको बताए । उनले भने, ‘हामीसँग कार्यक्रम गर्न अनुमति लिइएको हो । स्टेज बनाउन अनुमति लिएको होइन । यति ठूलो स्टेज बनाउने कुरा भएको थिएन । जम्मा दुई घण्टाका लागि हो ।’

युनेस्को विश्व सम्पदा सूचीमा रहेको मायादेवी मन्दिर परिसरमा हाल सयौंको संख्यामा चिनियाँहरूको बाक्लो चहलपहल छ ।

बुद्ध जयन्तीको अवसरमा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन चीनबाट चिनियाँ धार्मिक तथा साँस्कृतिक संगठनका महासचिव हान सोङ बुधबार नै काठमाडौँ आइपुगेका थिए ।

उनी ११ जना प्रतिनिधिमण्डलको जम्बो टोली लिएर क्याथे प्यासिफिकको उडानबाट बुधबार अबेर काठमाडौँ आएका हुन् ।

लुम्बिनीमा आयोजना हुने उक्त कार्यक्रममा चिनियाँ प्रतिनिधिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि सहभागी हुने तय भएको छ ।

विश्लेषकहरुले भने कुनै धर्म नै नमान्ने कम्युनिष्ट पार्टीको सरकार रहेको चीनले नेपालमा आयोजना हुने धार्मिक गतिविधिमा देखाएको चासोप्रति संशय जनाएका छन् । केही जानकारहरु भने नेपालमा आफ्नो आर्थिक एवम् साँस्कृतिक प्रभाव विस्तार गर्न चीनले बौद्ध धर्मको उपयोग गरिरहेको बताउँछन् ।

नाम उल्लेख नगर्ने सर्तमा परराष्ट्र मामिलाका एक जना जानकारले भने, ‘यस्ता कार्यक्रम र रणनीतिबारे नेपालीले चासो देखाउने बेला भएन र ?’

Leave A Reply

Your email address will not be published.