कलैया प्रादेशिक अस्पतालका तलब नपाएपछि चिकित्सक आन्दोलित

बीरगन्ज,०३ चैत । कलैया प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका १४ जना चिकित्सक तलब नपाएपछि आन्दोलित भएका छन्। चार महिनादेखि तलब रोकिएपछि उनीहरूले ‘पेन डाउन’ आन्दोलन सुरु गरेका हुन्।

चिकित्सकहरूका अनुसार, होली पर्वमा समेत निरन्तर सेवा दिए तापनि तलब नपाउँदा उनीहरू आर्थिक संकटमा परेका छन्। अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ र फार्मेसी अधिकृतहरूले पनि समयमा तलब नपाउँदा दैनन्दिन जीवनयापनमै कठिनाइ भोग्नु परेको बताएका छन्।

चिकित्सकहरूले प्रत्येक महिनाको अन्त्यमा तलब उपलब्ध गराउनुपर्ने माग राखेका छन्। यसैबीच, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले चिकित्सकहरूको माग तत्काल सम्बोधन नभए अस्पतालको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

डा. गुप्ताका अनुसार, अस्पताल विकास समितिसँग आवश्यक रकम अभाव भएकै कारण तलब रोकिएको हो। तलब व्यवस्थापनका लागि पटक–पटक पत्राचार गरिए पनि सम्बद्ध निकायले वेवास्ता गरेको उनको गुनासो छ। यदि समयमै समस्या समाधान नभए अस्पतालको सेवा प्रभावित हुन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।

Comments (0)
Add Comment