वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साले देशको भ्रष्टाचार र कुशासनविरुद्ध व्यवस्था परिवर्तनका लागि सक्रिय आन्दोलनमा होमिएको जनाउँदै सर्वसाधारण, व्यापारी र संघसंस्थाहरूसँग कुनै पनि प्रकारको चन्दा वा आर्थिक सहयोग सङ्कलन नगर्ने आफ्नो स्पष्ट नीति रहेको दोहोर्याएको छ ।
पार्टीका जिल्ला सचिव पानालाल पटेलद्वारा जारी प्रेस विज्ञप्तिमा विगतदेखि नै यस्ता गतिविधिमा संलग्न नभएको र भविष्यमा पनि नहुने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा पार्टीको आधिकारिक नीति विपरीत कुनै व्यक्ति वा समूहले चन्दा सङ्कलन गरेको पाइएमा त्यस्ता गतिविधिबाट सजग रहन र सूचना उपलब्ध गराएर सहयोग गर्न आम नागरिकसँग अनुरोध गरिएको छ ।
साथै, राप्रपा पर्साले मुलुकको विद्यमान अवस्थालाई सुधार्न जारी आन्दोलनमा सहभागी भई सफल बनाउन सबैमा अपिल गरेको छ ।
सचिव पटेलले आन्दोलनलाई सशक्त बनाउन जिल्लावासीको साथ र सहयोग अपरिहार्य रहेको बताएका छन् ।