मधेश प्रदेशका मिडिया काउन्सिल अध्यक्ष उपाध्यायसहित तीन जना उपर भ्रष्टाचार गरेको आरोपपत्र दायर

बारा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंले विशेष अदालतमा तीन जना व्यक्ति तथा एक संस्था उपर भ्रष्टाचार गरेको भन्दै मंगलबार आरोपपत्र दायर गरेको छ।

अख्तियारले बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादव र लेखापाल हासिम मियाँ अंसारी तथा केएस मल्टिप्रपोज प्रा.लि.एवम त्यस्का अध्यक्ष कमलकुमार उपाध्याय विरुद्ध आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी जनाएका हुन्।

उपाध्याय नेपाल पत्रकार महासंघ बाराका दुई कार्यकालका अध्यक्ष, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव तथा मधेश प्रदेश मिडिया काउन्सिलका वर्तमान अध्यक्ष समेत हुन्।

उनलाई दुई दिन अघि काउन्सिलको अध्यक्षको रुपमा मधेश प्रदेश सरकारले नियुक्त गरेको हो।

मधेश प्रदेशका गृह,कानुन तथा सञ्चारमन्त्री राजकुमार लेखीका अनुसार मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

अख्तियारले पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेको भन्ने उजूरी निवेदन सम्बन्धमा अनुसन्धान गरेको हो।

अनुसन्धानको क्रममा पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादव र लेखापाल हासिम मियाँ अंसारीले नगरपालिकाबाट आ.ब. २०७७/०७८ मा सञ्चालन भएका ठेक्काहरु क्रमशः ठेक्का नं. ०२/२०७७/७८ र ठेक्का नं. ०३/२०७७/७८ को बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा नगरेको पाइएको छ।

यादव र अन्सारीले केएस मल्टिप्रपोज प्रा.लि. का अध्यक्ष कमल कुमार उपाध्याय समेतको मिलेमतोमा पचरौता नगरपालिकाको ठेक्काको अभिलेखमा राख्ने प्रयोजनार्थ मात्र प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरी पचरौता नगरपालिकामा पेश गर्न लगाएको आरोपपत्रमा उल्लेख गरिएको छ।

सोही झुट्टा विवरण सहितको पत्रिकाको आधारमा रु.३ लाख ५२ हजार ५ सय ६० रुपैयाँ रकम केएस मल्टिप्रपोज प्रा.लि.लाई भुक्तानी दिएको पुष्टि भएको हुँदा प्रतिवादीहरु श्याम प्रसाद यादव र हासिम मियाँ अंसारीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूर भएको अख्तियारले ठहर गरेको छ।

अख्तियारले बिगो रु तीन लाख बाउन्न हजार पाँच सय साठी मात्र कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय गरी बिगो असूल उपर हुन माग दाबी यादव र अन्सारीसंग गर्दै मुद्दा दायर गरेको हो।

साथै केएस मल्टिप्रपोज प्रा.लि. तथा उक्त कम्पनीका अध्यक्ष कमल कुमार उपाध्यायले पचरौता नगरपालिकाबाट आ.व. ०७७/७८ मा सञ्चालन भएका ठेक्काहरुको बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी एक प्रति मात्र प्रभाव दैनिकमा प्रकाशित गरी रु.तीन लाख बाउन्न हजार पाँच सय साठी भुक्तानी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

उपाध्याय उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसूरजन्य कार्यको गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेको हुँदा मुख्य कसूरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्याश बमोजिम प्रतिवादीहरु केएस मल्टिप्रपोज प्रा.लि. तथा उक्त कम्पनीका अध्यक्ष कमलकुमार उपाध्यायलाई मुख्य कसूरदार सरह सजाय गरी बिगो असुल उपर हुन माग दाबी गर्दै आयोगले बिशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

Comments (0)
Add Comment