कलैया : अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौले जिल्ला हुलाक कार्यालय,बाराका तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू समेत ६ जना उपर मंगलबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले जिल्ला हुलाक कार्यालय,बाराका तत्कालीन कार्यालय प्रमुखहरु जयलाल प्रसाद साह कानू,अदालत प्रसाद कुर्मी,बुन्नी प्रसाद यादव,सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साह उपर भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन ।
जिल्ला हुलाक कार्यालय,बाराका नायब सुब्बा हाल कार्यालय प्रमुखसमेत रहेका बलीराम प्रसाद कुर्मीले २०६० सालदेखि नै बचत बैँकको जिम्मा लिँदै आएको थिए । उनले बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी आफूखुसी अपचलन गरेको भनी जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।
उक्त उजुरीको अनुसन्धान भई बारा जिल्ला अदालतमा ठगी मुद्दा दायर भई हाल पुर्पक्षको लागि थुनामा रहेको भन्ने व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा ६ जनाले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ ।
तत्कालीन ना.सु. पदमा कार्यरत बलीराम प्रसाद कुर्मी भन्ने बलीराम प्रसाद जिल्ला हुलाक कार्यालय,बारामा बचत बैंक हेर्ने फाँटवालको जिम्मेवारी हुँदै निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा समेत हुन ।
उनले हुलाक बचत बैंकमा जनताको निक्षेप रकम संकलन गरी सो विवरण बचतकर्ताहरुको पासबुक तथा लेजर बुकमा मात्र जनाई,कार्यालयको दैनिक नगदी रजिष्टरमा नजनाई,प्रविष्टि नगरी,बैंक दाखिला नगरी,केन्द्रीय कार्यालयमा जानकारी नगराई हुलाक बचत बैंक नियमावली,हुलाक सेवा कार्यविधि निर्देशिका,हुलाक बचत बैंक कार्य संचालन निर्देशिकाले निर्देश गरेको कार्यविधि एवं जिम्मेवारी समेतको पालना नगरेको देखिएको छ ।
कुर्मीले कार्यालय प्रमुखहरुसँग मिलेमतो गरी बचतकर्ताहरुको बचत गर्नुपर्ने रकम अपचलन गरी आपसमा बाँडफाँड गरी बचतकर्ताहरुबाट उठेको बचत रकम साँवा ब्याँज गरी कूल रु.पाँच करोड पैतीस लाख चौसठ्ठी हजार दुई सय उनासी रुपैयाँ तेत्तीस पैसा लिने खाने गरी बदनियतपूर्वक ढङ्गले आफू समेतलाई लाभ हुने गरी सरकारी रकम हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ ।
उनरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा ऐ.ऐनको दफा १७ ले निर्देश गरेबमोजिम बिगो रु.पाँच करोड पैतीस लाख चौसठ्ठी हजार दुई सय उनासी रुपैयाँ तेत्तीस पैसा कायम गरी सोही ऐनको पहिलो संशोधन पूर्वको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा सोही ऐनको पहिलो संशोधन पश्चातको दफा ३ को उपदफा (१) को देहाय (छ) अनुसार बिगो बमोजिम कैद र जरीवाना गरी उल्लिखित बिगो सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन माग दावी गरिएको छ ।
यसैगरी जयलाल प्रसाद साह कानू,अदालत प्रसाद कुर्मी,बुन्नी प्रसाद यादव,सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साह कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा बचतकर्ताहरुबाट संकलन भएको रकमलाई दैनिक नगदी रजिष्टरमा नजनाई,अभिलेख राखे नराखेको नहेरी,कार्यालयमा प्रविष्टि गरे नगरेको चेकजाँच नगरी,कार्यालयमा अभिलेख नराखी,बैंक दाखिला भए नभएको समेत जाचँबुझ/चेकजाँच नगरी/नगराई, बचत रकमको प्रमाणिकरण नगरी नगराई, केन्द्रीय कार्यालयमा समेत जानकारी नगराई फाटँवाला बलीराम प्रसादको मिलेमतोमा बचतकर्ताहरुको बचत हुनुपर्ने रकम आपसमा बाँडफाँड गरी बचतकर्ताहरुबाट उठेको बचत रकम साँवा ब्याँज गरी कूल रु.पाँच करोड पैतीस लाख चौसठ्ठी हजार दुई सय उनासी रुपैयाँ तेत्तीस पैसा दुरुपयोग गरी मासेको देखिएको अख्तियारले जानकारी दिएको छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसूरमा ऐ.ऐनको दफा १७ ले निर्देश गरेबमोजिम बिगो रु.पाँच करोड पैतीस लाख चौसठ्ठी हजार दुई सय उनासी रुपैयाँ तेत्तीस पैसा कायम गरी सोही ऐनको पहिलो संशोधन पूर्वको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा सोही ऐनको पहिलो संशोधन पश्चातको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम बिगो बमोजिम कैद र जरीवाना गरी उल्लिखित बिगो सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुन मागदाबी लिई विशेष अदालत,काठमाडौमा आरोपपत्र दायर गरिएको हो ।