हुरी र असिना पानीले नष्ट पारेको बालीको क्षतिपूर्ति नपाएपछि किसानहरू आन्दोलित

कृषि बालीमा भएको क्षतिको क्षतिपूर्ति दिन स्थानीय सरकारले चासो नदिएपछि पीडित किसानहरू आइतबारदेखि आन्दोलित भएका हुन्। पीडित किसानहरूले आइतबार सिम्रौनगगढ नगरपालिकाका कार्यालयको दुवै प्रवेशद्वारमा तालाबन्दी गरेर धर्नामा बसेका छन्। तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेप पनि गरेको थियो। 

किसान संघर्ष समितिका सदस्य एवं पीडित किसान राम प्रवेश कुशवाहाले क्षतिपूर्तिका लागि नगरपालिकाको कार्यालयमा पटक पटक धाउँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर पीडित किसानहरू आन्दोलनमा उत्रिएको बताए।

गत वैशाख १४ गते बेलुकी आएको हावाहुरी र असिना पानीले वडा नम्बर १, २, ३, ६ र ७ मा करिब ९४ बिघा खेतमा लगाइएको तरकारी बाली, मकै, धान लगायतका बाली नष्ट भएको थियो। जसबाट त्यस क्षेत्रका करिब ६ सय जना किसानहरू मर्कामा परेको संघर्ष समितिका सदस्य कुशवाहाले बताए।

उनका अनुसार हावाहुरी र असिनापानीले बालीमा नोक्सानी पुर्‍याएको भोलिपल्टै बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको टोलीले किसानको खेतमा पुगेर क्षतिको अवलोकन गरेका थिए। उनकै आग्रहमा पीडित किसानहरूले हावाहुरी र असिनापानीले पुर्याएको क्षतिको विवरण संकलन गरेर क्षतिपूर्तिका लागि नगरपालिकाको कार्यालयमा बुझाएका थिए।

त्यसपछि मेयर किशोरी प्रसाद कलवारले पीडित किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन कुनै चासो नदेखाएको र नगरपालिकामा पटक पटक पुगेका पीडित किसानहरूलाई बहाना बनाएर टर्दै आएको संघर्ष समितिका सदस्य कुशवाहाले बताए।

आफूहरूले हावाहुरी र असिनापानीले पुर्‍याएको क्षतिको बालीको लागत खर्च मात्र माग गरेको कुशवाहाले बताए। उनले भने, ‘हामीले बाली लगाउँदा भएको खनजोत, बिउ, मल र सिँचाइमा लागेको खर्च मात्रै मागेका छौं। प्रति कठ्ठा ८ हजार रुपैयाँका दरले क्षतिपूर्ति चाहियो भनेका छौं। तैपनि स्थानीय सरकारले हाम्रो माग सुनेको छैन। अनि बाध्य भएर आज नगरपालिकामा तालाबन्दी गरेर धर्ना बसेका हौं।’

नगरपालिकाले क्षतिपूर्ति उपलब्ध नगराएसम्म आफूहरूको आन्दोलन जारी नै रहने उनले बताए। उनले भने, ‘मेयरसाब हाम्रो धर्नास्थलमा आउनु पर्यो। हाम्रो माग पूरा गर्ने लिखित प्रतिबद्धता पनि जनाउनु पर्‍यो। अनि मात्र हाम्रो आन्दोलन रोकिन्छ। नभए हाम्रो आन्दोलन जारी नै रहन्छ।’

Comments (0)
Add Comment