काठमाडौं। प्रस्तावित कृषि विधेयक तथा राष्ट्रिय कृषि नीतिसम्बन्धी सरोकारवाला निकायबीचको छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सभा हलमा आयोजित उक्त कार्यक्रम कृषि उद्यम केन्द्रको आयोजनामा सम्पन्न भएको हो ।
कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका उपाध्यक्ष हेमराज ढकाल प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा बोल्दै ढकालले कृषिमा अझै प्रभावकारी नीतिहरू आउन बाँकी रहेको उल्लेख गर्दै, कृषकमैत्री विधेयक आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने, “विगतमा कृषि विधेयकको आवश्यकता महसुस गराउँदै महासंघले पहल थालेको थियो, जसका कारण अहिले विधेयकको प्रारूप तयार भएको छ ।”
उनले कृषि, वन तथा भूमिसुधार मन्त्रालयबीच समन्वयको कमी, युवा जनशक्ति विदेशिने प्रवृत्तिलाई रोक्न रोजगारी सृजनाको खाँचो, र कृषिको व्यवसायीकरणमार्फत आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, व्यवसायीहरूको राय सुझाव सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सभापति बस्नेतले कृषि उद्यम केन्द्रले विगतमा मन्त्रालयमा पेश गरेका सुझावमध्ये केही समावेश गरिएको बताउँदै अब प्राप्त हुने नयाँ सुझावहरूलाई एकीकृत गरेर मन्त्रालयमा पुनः पेस गरिने जानकारी दिए । उनले वस्तुगत संघसंस्थाबाट आएका सुझावहरूलाई केन्द्रमार्फत सरकारसमक्ष पुर्याउने परम्परालाई निरन्तरता दिने बताए ।
छलफलमा नेपाल डेरी एशोसिएसन, नेपाल चामल तथा दाल उत्पादक संघ, नेपाल कफी व्यवसायी महासंघ, नेपाल हव्स तथा हर्बल संघ, फ्लोरिकल्चर एशोसिएसन नेपाल, नेपाल अदुवा व्यवसायी संघ, नेपाल अलैची महासंघ, नेपाल कुचो संघ, भक्तपुर उद्योग वाणिज्य संघ, रुद्राक्ष व्यवसायी संघ, इन्देणी मसरुम फार्म बलम्बु, मुना कृषि लगायतका संघसंस्थाको उपस्थिति रहेको थियो । सहभागी संघसंस्थाले प्रस्तावित विधेयक र नीतिमा अझै संशोधन आवश्यक रहेको धारणा राख्दै प्राप्त सुझावहरूलाई समेटेर मन्त्रालयमा पुनः पठाउन आग्रह गरेका थिए ।
कृषि उद्यम केन्द्रले आगामी दिनमा सरोकारवालाबाट प्राप्त सुझावलाई एकीकृत गरी सरकारसमक्ष पेश गरिने स्पष्ट पारेको छ ।