झापा असार ११ : अमेरिकाले डिपोर्ट गर्दै मार्च २७ तारिखमा भुटानको पारो विमानस्थलमा पुर्यायो। भुटानले त्यहाँबाट भारत पठायो। भारतबाट अवैध बाटो हुँदै उनीहरू नेपाल प्रवेश गरे। यसरी नेपाल आएका चार जना भुटानी शरणार्थीलाई जरिवाना तिराएर भुटान नै फर्काइदिने निर्णय सरकारले गरेको छ।
अमेरिकाबाट डिपोर्ट भएका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी, ३६ वर्षीय रोशन तामाङ र ३० वर्षीय अशोक गुरुङ तीन महिनाअघि अवैध रूपमा झापा प्रवेश गरेका थिए। लगत्तै पक्राउ परेका थिए। पक्राउ परेका चारै जनालाई अध्यागमन कार्यालय काँकडभिट्टाले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखेको थियो।
विभागले उनीहरूको बारेमा शुक्रबार निर्णय गरेको हो। भुटानको राहदानी वा यात्रा कागजात पेस नगरेसम्म तोकिएको स्थान हदभित्र रहने गरी नेपालमै बस्न दिनेसमेत निर्णय भएको उनको भनाइ छ। यसबाहेक उनीहरूले भिसा शुल्क र ओभरस्टेको दैनिक ८ डलरका दरले शुल्क बुझाउनुपर्छ। ‘विभागको निर्णयमा चित्त नबुझे उनीहरूका लागि अन्य कानुनी बाटोहरू पनि खुला छन,’ रिजालले भने।
विभागले गरेको निर्णयको पत्र चारै जनाको हातमा थमाइसकेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए। ‘कर्मचारी नै खटाएर सोमबार तीन जनालाई र मंगलबार एक जनालाई पत्र थमाइसकेका छौं। अब उनीहरू कति दिन त्यहाँ बस्ने हुन, त्यसबारेमा विभागले निर्देशन दिएपछि मात्र यहाँबाट प्रक्रिया अघि बढ्छ,’ उनले भने।
डिपोर्ट भई बिना कागजात नेपाल प्रवेश गरेका सुवेदी, तामाङ र दर्जी दमक–३ बेलडाँगी शिविरबाट चैत १६ गते पक्राउ परेका थिए भने गुरुङलाई सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका–४ स्थित मिलनटुङ सीमा नाकाबाट लुकिछिपी पैदल छिरिरहेको अवस्थामा चैत १९ गते पक्राउ गरेको थियो। पक्राउ परेका उनीहरूको साथमा नागरिकता, परिचयपत्र वा पासपोर्टलगायतका आवश्यक कागजातहरू केही पनि थिएन।
अमेरिकाले निष्कासन गरेका १० जना भुटानी शरणार्थीलाई भारतको दिल्ली हुँदै थिम्पुको पारो विमानस्थलमा मार्च २७ तारिखमा ओरालेका थिए। भुटानले उनीहरूलाई एक रात पाँचतारे होटेलमा राखेको थियो। भुटानले भोलिपल्ट उनीहरूलाई जनही भारु ३०÷३० हजारको दरले खर्च थमाएर भारतीय नम्बरको ट्याक्सी भुटानमै बोलाएर रिजर्भ गरी भारत–भुटानको फुन्छ्योलिङ–जयगाउँ नाका पठाएको थियो। त्यहाँबाट उनीहरूलाई पूर्वी नेपालको काँकडभिट्टा–पानीट्यांकी नाकामा ल्याएर छोडिएको थियो। तीमध्ये चार जना नेपाल प्रवेश गरेका थिए।