कृषिमा युवाको आकर्षण बढाउन नीति आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ:राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कृषि क्षेत्रमा नेपाली युवा पुस्तालाई आकर्षित गर्न राज्यले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्।

सोमबार राजधानीमा आयोजित ‘प्रथम यः वा किसान मञ्चः युवा किसान व्याम्प तथा कृषि ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कृषिमा युवाको सहभागिता सुनिश्चित गर्न सरकारले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने बताए।

“देशको समृद्धिको आधार कृषि हो भने किसान समृद्धिका आधारशिला हुन्,” अध्यक्ष दाहालले भने, “तर आजसम्म पनि वास्तविक किसानहरू जमिनविहीन छन्, सिँचाइ, मल, बीउ, बजार व्यवस्थापन र न्यूनतम समर्थन मूल्य जस्ता समस्यामा अल्झिरहेका छन्।”

संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको मार्गचित्र तय गरे पनि किसानको जीवनस्तरमा परिवर्तन ल्याउन राज्य असफल भएको उनको टिप्पणी थियो। उनले कृषिमा सामाजिक न्यायसहितको क्रान्तिको आवश्यकता औँल्याउँदै किसानलाई जमिनको स्वामित्व दिलाउन, खाद्य सम्प्रभुता कायम गर्न र संवैधानिक हकहरूको व्यवहारिक कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

दाहालले युवाहरूको सक्रियता र नेतृत्वविना कृषिको रूपान्तरण सम्भव नरहेको उल्लेख गर्दै सरकारले तत्काल गर्नुपर्ने १३ बुँदे सुझाव समेत प्रस्तुत गरे। ती सुझावमा भूमि सम्बन्धी कानुन निर्माण, मल–बीउको सुनिश्चित आपूर्ति, रैथाने बालीको प्रवर्द्धन, विषादी नियन्त्रण, किसानलाई सहुलियत ऋण र अनुदानको पहुँच, जलवायु परिवर्तनको असर न्यूनीकरणलगायत विषय समेटिएका छन्।

उनले कृत्रिम बौद्धिकता (एआई) र सूचना प्रविधिको उपयोगमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा पनि राखे। कृषि क्षेत्रलाई बेरोजगारी न्यूनीकरणको माध्यम बनाउनु अहिलेको आवश्यकता भएको उनले उल्लेख गरे।

राष्ट्रिय किसान सञ्जाल नेपाल र राष्ट्रिय कार्यान्वयन समितिद्वारा आयोजित कार्यक्रममा देशभरका सयभन्दा बढी युवा किसानको सहभागिता रहेको कार्यक्रम संयोजक नहेन्द्र खड्काले जानकारी दिए।

Comments (0)
Add Comment