ललितपुर, साउन ७: अन्तर्राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी ‘सीआईएएमई एसिया २०२५’ मा सहभागी हुन नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा ३० सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज थाइल्याण्ड प्रस्थान गरेको छ।
कृषि यान्त्रिकरणमा संलग्न व्यवसायी, आपूर्तिकर्ता तथा प्राविधिकहरू सम्मिलित टोलीले प्रदर्शनीमा सहभागी भई आधुनिक तथा नवीनतम प्रविधिहरूको अवलोकन गर्ने कार्यक्रम तय गरिएको संघले जनाएको छ। संघका अनुसार, यस्ता अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागिताले व्यवसायीहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि हुनुका साथै नेपालको कृषि यान्त्रिकरण प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चीन कृषि मेसिन वितरण संघ (CAMDA) र थाई कृषि इञ्जिनियरिङ समाज (TSAE) को संयुक्त आयोजनामा हुने सीआईएएमई एसिया २०२५ यही साउन ७ देखि ९ गतेसम्म थाइल्याण्डमा आयोजना हुँदैछ। यो थाइल्याण्डमा आयोजना हुने पहिलो तथा हालसम्मकै ठूलो कृषि यान्त्रिकरण प्रदर्शनी हो। उक्त प्रदर्शनीमा थाइल्याण्ड, चीन तथा अन्य एसियाली मुलुकका कृषि विज्ञ, नीति निर्माता, उद्योगपति तथा व्यवसायीहरू सहभागी हुनेछन्।
संघका अध्यक्ष शर्माले नेपालका व्यवसायीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि, ज्ञान र अनुभव हासिल गर्ने अवसर भएको बताउँदै प्रदर्शनीमा सहभागिताले नेपालको माटो सुहाउँदो यान्त्रिकरण प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारसँग सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।