हेल्प नेपालको उत्कृष्ट प्रदर्शन: श्रीलङ्का पुलिसलाई हराउँदै तेस्रो स्थान कब्जा

काठमाण्डौ, श्रावण ८ : काभा (CAVA) च्याम्पियन लिग भलिबल प्रतियोगितामा नेपाली टोली हेल्प नेपालले सशक्त प्रदर्शन गर्दै तेस्रो स्थान आफ्नो पक्षमा पारेको छ । आइतबार सम्पन्न तेस्रो स्थानका लागि खेलमा हेल्प नेपालले श्रीलङ्काली पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै कास्य पदक सुनिश्चित गरेको हो ।

हेल्प नेपालले खेलको पहिलो सेट २५–२० ले जितेर आत्मविश्वासपूर्ण सुरुवात गरेको थियो । दोश्रो सेट पनि २५–१५ को स्पष्ट अन्तरले आफ्नो पक्षमा पार्दै उसले दबदबा कायम राख्यो । तेस्रो सेटमा भने श्रीलङ्काली टोलीले २०–२५ को जित निकाल्दै खेलमा पुनरागमनको संकेत दिएको थियो । तर, चौथो सेटमा हेल्प नेपालले संयमित खेल देखाउँदै २५–२१ ले जीत हात पारेर समग्र खेल ३–१ मा आफ्नो पक्षमा पारेको हो ।

यसअघि, लिग चरणको अन्तिम खेलमा पनि हेल्प नेपालले श्रीलङ्काली पुलिसलाई ३–० को सेटमा पराजित गरेको थियो । तर, फाइनल प्रवेशको होडमा कीर्गिस्तानको बिश्केकसँग अंक बराबरी (११–११) भए पनि सेट अन्तरमा मात्र दुई सेटले पछि परेपछि हेल्प नेपालले फाइनल खेल्ने मौका गुमाएको थियो ।

नेपाल भलिबल महासंघ अन्तर्गत संचालित हेल्प नेपालको यो उपलब्धिलाई नेपाली भलिबलको क्षेत्रीय स्तरमा उकालो यात्रा को संकेतका रूपमा हेरिएको छ । भलिबल प्रेमी र समर्थकहरूले टोलीको समर्पण र खेल कौशलको प्रशंसा गरेका छन् ।

Comments (0)
Add Comment