नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा रूपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनबारे गम्भीर छलफल भएको छ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको बैठकमा उपनिर्वाचनमा पार्टीको तयारी र रणनीतिबारे केन्द्रित छलफल गरिएको हो।
बैठकमा रूपन्देही जिल्ला सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन र केन्द्रीय सदस्य बालकृष्ण खाणले हालको राजनीतिक अवस्था र निर्वाचनको सम्भावनाबारे ब्रिफिङ गरेका थिए।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार पार्टी रूपन्देही–३ मा एकढिक्का भएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको छ। “पार्टीको अवस्था राम्रो रहेको र एकताका साथ होमिएमा चुनाव जित्न सकिन्छ भन्ने ब्रिफिङ आएको छ,” उनले भने।
हालसम्म कांग्रेसले उम्मेदवारको टुंगो भने लगाएको छैन। उम्मेदवार चयनबारे पार्टीका तल्ला तहका समितिबाट औपचारिक रूपमा आकांक्षीको नाम माग गरिएको छैन।
यसअघि सभापति देउवालाई भेटेका देउवानिकट पाँच जना पूर्वपदाधिकारीहरूले बालकृष्ण खाण वा अन्य उपयुक्त उम्मेदवार तय गरी उपनिर्वाचनमा जित सुनिश्चित गर्न सुझाव दिएका थिए।
२०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार बालकृष्ण खाण राप्रपाका दीपक बोहरासँग पराजित भएका थिए। बोहराको निधनपछि प्रतिनिधिसभाको यो सिट रिक्त भएको हो।
तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता रहेको भन्दै उनीविरुद्ध मुद्दा अझै टुंगिन नसकेको कारणले उनलाई उम्मेदवार नबनाउनुपर्ने भन्ने मत पनि कांग्रेसभित्र रहेको छ। यद्यपि खाण भने उपनिर्वाचनमार्फत राजनीतिमा पुनरागमनको तयारीमा जुटेका छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा कांग्रेसले समानुपातिकतर्फ सबैभन्दा बढी २० हजार २७९ मत प्राप्त गरेको थियो। एमालेले १६ हजार ९८६, रास्वपाले १४ हजार १५४, राप्रपाले ९ हजार १५४, नाउपाले ६ हजार १०, जसपाले ५ हजार २९१, लोसपाले ५ हजार ५३, जनमतले ३ हजार ६३२ र माओवादी केन्द्रले २ हजार ६३७ मत ल्याएका थिए।
पार्टी स्रोतका अनुसार उपयुक्त उम्मेदवार छनोटका लागि कांग्रेस नेतृत्वले अझ केही दिन भित्रमा तल्ला तहको राय संकलन गर्ने तयारी गरेको छ।