दार्चुलाबाट २३ सय क्विन्टलभन्दा बढी हिमाली जडीबुटी निकासी, करोडौँ राजस्व संकलन

हिमाली जडीबुटीको स्रोतका रूपमा चिनिएको दार्चुलाबाट पछिल्लो आर्थिक वर्षमा २ हजार ३१६ क्विन्टलभन्दा बढी जडीबुटी निकासी गरिएको छ। निकासीबाट राज्यले झन्डै १ करोड ८९ लाख रुपैयाँ राजस्व आर्जन गर्न सफल भएको छ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय र डिभिजन वन कार्यालय दार्चुलाको सहकार्यमा यार्चागुम्बा, वनलसुन, टिमुर, तेजपात, दालचिनी, अमला, रिट्ठा, अल्लो, रातो च्याउ, कचुरजस्ता बहुमूल्य जडीबुटीहरू आन्तरिक तथा बाह्य बजारमा पठाइएको हो।

डिभिजन वन कार्यालयका सूचना अधिकारी राजेश पार्कीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ क्विन्टल ८८.३३७ ग्राम यार्चागुम्बा, ३ क्विन्टल ३०० ग्राम वनलसुन, ९८ किलो टिमुर, १२ क्विन्टल अमला, १,५४० क्विन्टल तेजपात, ५८० क्विन्टल रिट्ठा, ४५ क्विन्टल अल्लो लगायतका जडीबुटी निकासी भएका हुन्।

अपिनाम्पा संरक्षण क्षेत्रका वार्डेन विनयकुमार झाले संरक्षण क्षेत्रमा ७० प्रजातिका जडीबुटी पहिचान गरिए पनि हाल ३५ प्रजातिमात्रै व्यापारिक रूपमा संकलन तथा निकासी हुँदै आएको जानकारी दिए।

जडीबुटी निकासीबाट ठूलो आर्थिक लाभ उठाइँदै आए पनि दीर्घकालीन संरक्षणमा सरोकारवाला निकायको ध्यान नपुगेकोमा व्यापारीहरू चिन्तित छन्। दार्चुला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मङ्गलसिंह ठगुन्नाले प्रत्येक वर्ष अनियन्त्रित संकलन र वन क्षेत्र खुला गरिने प्रक्रियाका कारण जडीबुटी लोप हुने अवस्थामा पुगेको बताए।

उनले जडीबुटी स्रोतको दीर्घकालीन संरक्षण तथा व्यवस्थित संकलनका लागि नीतिगत सुधारसहित ठोस रणनीति ल्याउन सरकारसँग आग्रह गरेका छन्। स्थानीय सरोकारवालाहरूले पनि जडीबुटी सम्पदाको संरक्षणमा तत्काल ध्यान दिनुपर्ने माग राख्दै आएका छन्।

Comments (0)
Add Comment