काठमाडौं, साउन ९ :पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको निर्माणमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई आह्वान गरेकी छिन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जननेता मदन भण्डारीले अघि सारेको पार्टी निर्माणको अवधारणालाई निष्ठापूर्वक आत्मसात् गर्न पार्टी पंक्तिलाई आग्रह गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “जननेता मदन भण्डारीले अघि सारेको पार्टी निर्माण सम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सम्पूर्ण एमाले पंक्तिमा आग्रह गर्दछु। मेरो संकल्प अन्तरआत्माको आवाज हो। आफ्नो निर्णयबाट म विचलित हुने छैन।”
उनले विगत ४५ वर्षदेखि पार्टी सदस्यको रूपमा आफू निरन्तर सक्रिय रहेको उल्लेख गर्दै विचार, सिद्धान्त र नीतिप्रति आफू पूर्णतः प्रतिबद्ध रहेको बताइन्। पार्टीप्रति यस्तो आस्था राख्दाराख्दै सदस्यताबाट बञ्चित गरिनु अन्यायपूर्ण भएको भण्डारीको टिप्पणी थियो।
भण्डारीको उक्त अभिव्यक्तिले एमाले नेतृत्वमा रहेका केपी शर्मा ओलीप्रति अप्रत्यक्ष असन्तोष झल्किएको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ। एमालेभित्र गहिरिँदो गुटबन्दीबीच भण्डारीको सक्रियता पुनः बढ्ने संकेतका रूपमा पनि हेरिएको छ।