वीरगञ्ज नाकाबाट अघिल्लो वर्षको तुलनामा ५३ प्रतिशत बढी धान आयात

वीरगञ्ज, साउन १२ : वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको ३१ करोड ३८ लाख ६५ हजार ४७३ किलोग्राम धान आयात भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा मूल्यको आधारमा यो ५३ प्रतिशतले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब २९ करोड मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार ४४८ किलोग्राम धान आयात भएको थियो। भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले गत वर्ष धानसँगै चामलको आयात पनि उल्लेख्य रूपमा बढेको जानकारी दिए।

चामलको हकमा गत आव २०८१/८२ मा २ अर्ब ४१ करोड मूल्य बराबरको २ करोड ४८ लाख १३ हजार ५३१ किलोग्राम चामल आयात गरिएको छ। अघिल्लो वर्ष १ अर्ब ७३ करोड मूल्य बराबरको १ करोड ३२ लाख ४१ हजार ३७६ किलोग्राम चामल आयात भएको थियो। मूल्यको आधारमा चामलको आयात ४० प्रतिशतले बढेको देखिएको छ।

यसैगरी, मकैको आयात पनि उल्लेखनीय रहेको छ। गत आवमा ६ अर्ब ७३ करोड मूल्य बराबरको १३ करोड ९६ लाख ५९ हजार ६२१ किलोग्राम मकै आयात भएको छ। अघिल्लो वर्ष ५ अर्ब ५९ करोड रुपैयाँ बराबरको १२ करोड ९९ लाख १८ हजार १७३ किलोग्राम मकै आयात गरिएको थियो।

त्यस्तै, फापर, कोदो र अन्य खाद्यान्नको आयातमा पनि केही वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा ४७ करोड रुपैयाँ बराबरको ९१ लाख ९२ हजार ९८१ किलोग्राम यस्ता खाद्यान्न आयात भएका थिए। अघिल्लो आवमा ४३ करोड बराबरको ८४ लाख ९५ हजार ४४५ किलोग्राम यस्ता वस्तु आयात भएका थिए।

कनिकाको हकमा भने ४ करोड मूल्य बराबरको ८ लाख ४७ हजार ७८० किलोग्राम आयात भएको भन्सार कार्यालयले जनाएको छ।

यसले आयातमा देशको निर्भरता बढिरहेको संकेत दिन्छ। उत्पादन बढाउनेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने विज्ञहरूको भनाइ छ।

Comments (0)
Add Comment