मधेश प्रदेशमा खडेरीका कारण सम्भावित खाद्य सङ्कटलाई न्यूनीकरण गर्न कृषि बालीमा परिवर्तन गर्न कृषि विज्ञले सुझाव दिएका छन्।
काठमाडौँमा मंगलबार आयोजित जलवायु न्यायसम्बन्धी कार्यक्रममा बोल्दै कृषि विज्ञ डा. कृष्ण पौडेलले मधेश तथा तराई क्षेत्रलाई ग्रसित बनाइरहेको खडेरीको समस्या आकस्मिक नभएको बताएका हुन्। उनका अनुसार अत्यधिक मात्रामा प्रयोग गरिँदै आएको विषादी तथा रासायनिक मलले माटोको उर्वराशक्ति घटेको र वातावरण तातो बनेको कारण हालको खडेरी जस्तो समस्या देखिएको हो।
“अबको खेती प्रणालीलाई पुनरावलोकन गर्नु आवश्यक छ,” डा. पौडेलले भने, “सुख्खा क्षेत्रको अवस्था अनुरूप अनुकूल बाली रोज्ने, हरियाली बढाउने, माटो सुधार गर्ने र वातावरण चिसो बनाउने दिशामा लाग्नुपर्छ।” साथै, सरकारले तराई क्षेत्रमा डिप बोरिङ गर्ने योजनाले उल्टै मरुभूमिकरण निम्त्याउने चेतावनी दिँदै उनले वैकल्पिक उपाय अपनाउन जोड दिए।
कार्यक्रममा वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनको असर मानव मात्र नभई वन्यजन्तु र वनस्पतिमा समेत परिरहेको बताएका थिए। उनले जलवायु परिवर्तनसँग सम्बन्धित अन्तर्राष्ट्रिय कानुनी प्रबन्धले वन्यजन्तु र वनस्पतिको संरक्षणतर्फ ध्यान दिन थालेको उल्लेख गरे।
यस्तै, अर्का वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायको सवालमा वर्तमान पुस्तासँगै भावी पुस्ताको हक अधिकार सुनिश्चित गर्न सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने धारणा राखे। उनले दुई पुस्ताबीचको अन्तरसम्बन्धको सन्तुलनमा नै जलवायु न्यायको सार रहेको बताए।
सञ्चारीका समूहकी अध्यक्ष कमला पन्थीले जलवायु परिवर्तनको प्रत्यक्ष असर महिलामाथि देखिएको उल्लेख गर्दै पानीका स्रोत सुक्दै जाँदा महिलाहरूलाई टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता बढेको बताइन्।
उक्त कार्यक्रम सञ्चारीका समूह र एक्सनएडको संयुक्त आयोजनामा सम्पन्न भएको हो।