बाँस राजधानी माग्दै दिक्तेलका नगरप्रमुख आमरण अनसनमा

खोटाङलाई बाँसको राजधानी बनाउने माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आमरण अनसनमा बसेका छन्। आफ्ना मागप्रति सरकार गम्भीर नदेखिएको भन्दै उनले आइतबारदेखि सिंहदरबारको दक्षिण गेटमा अनसन सुरु गरेका हुन्।

नगरप्रमुख भट्टराईले माईतीघर मण्डलामा बाँसबाट निर्मित ओढ्ने–ओछ्याउने, परालको गुन्द्री, भेडाको उनबाट बनाइएको राडी र बाँसका अन्य सामग्रीसहित सत्याग्रह प्रारम्भ गरेका थिए। “सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदेखिएकोले अन्ततः भोक हडतालमा बस्नुपरेको हो,” भट्टराईले बताए।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरसभाबाट बाँसको राष्ट्रियकरण, उत्पादन, औद्योगीकरण र उपभोगबारे नीतिगत निर्णय गरिसकेको छ। त्यस्तै, गत वर्ष फागुन १५ देखि १७ गतेसम्म ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’ समेत आयोजन गरिएको थियो।

नगरप्रमुख भट्टराई २०७९ को स्थानीय तह निर्वाचन जितेलगत्तै बाँस प्रवर्द्धन अभियानमा लागेका छन्। उनले आफ्नै कार्यकक्षमा बाँसबाट निर्मित टेबल, कुर्सी, सोफा, टि–टेबल, ह्याङ्गर, किताब र्याकलगायत सामग्री प्रयोग गर्दै आएको जनाएका छन्।

भट्टराईले बाँसको बहुउपयोगिता सिद्ध गरी स्थानीय स्तरमै उद्यम व्यवसायमार्फत रोजगारी र आयआर्जनको सम्भावना रहेको बताउँदै, त्यसका लागि संघीय सरकारले आवश्यक नीति, कार्यक्रम तथा बजेट व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्।

उनले भने, “बाँस नेपाली समाज, संस्कार र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ। यसको सदुपयोग गर्न राज्यले उचित वातावरण बनाउनु अहिलेको आवश्यकता हो।”

सरकारले तुरुन्त सकारात्मक पहल नगरे आमरण अनसनलाई थप उग्र बनाउने चेतावनी भट्टराईले दिएका छन्।

Comments (0)
Add Comment