जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिइए मधेसमा जनविद्रोह हुने चेतावनी दिएका छन् । सप्तरीको राजविराजमा आयोजित जसपा सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले वर्तमान सरकारले मधेस विरोधी भूमि विधेयक जबरजस्ती लाद्न खोजेको आरोप लगाए ।
“मधेसी जनता आफ्नो अस्तित्व र पहिचान जोगाउन बाध्य भएर सडकमा उत्रिन सक्छन्,” उनले चेतावनी दिँदै भने, “यो विधेयक खारेज गरिएन भने जनविद्रोह टार्न सकिन्न ।”
यादवले सरकारलाई वन विनाश, चुरे दोहन र पहाडका बासिन्दालाई मधेसमा अवैध रूपमा बसोबास गराउने योजनामा लागेको आरोप समेत लगाए । उनले चुरे क्षेत्रको संरक्षण नगरे मधेस मरुभूमिमा परिणत हुने खतरा औंल्याउँदै जनतालाई सचेत रहन आग्रह गरे ।
“जमिनको सतहमा पानी कायम राख्न चुरे अत्यन्तै महत्वपूर्ण छ,” अध्यक्ष यादवले भने, “तर वन फडानीका कारण जलस्रोत सुक्दै गएका छन्, मधेस मरुभूमिकरणतर्फ उन्मुख छ ।”
उनले हालको बजेट वितरण प्रणालीलाई विभेदपूर्ण बताउँदै जनसंख्याका आधारमा बजेट विनियोजन हुनुपर्ने मागसमेत राखे । “४० प्रतिशत जनसङ्ख्या भएको प्रदेशले ८९ प्रतिशत बजेट पाउँछ, जबकि ६० प्रतिशत जनसंख्या भएको मधेसलाई ११ प्रतिशत मात्र,” यादवले भने, “यस भन्दा ठूलो विभेद के हुनसक्छ ?”
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले वर्तमान संविधानलाई जबरजस्ती लादिएको भन्दै त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रको बदनाम गराएको दाबी गरे । उनले संविधान संशोधनको आवश्यकता पनि दोहोर्याए ।