काठमाडौं, साउन १५ :नेपाल प्रेस युनियनले देशव्यापी रूपमा एक सय दिने ‘सदस्यता विशेष अभियान’ सुरु गरेको छ । युनियनको केन्द्रीय समितिको निर्णय अनुसार आज काठमाडौं शाखामार्फत औपचारिक रूपमा अभियानको शुभारम्भ गरिएको हो ।
शुभारम्भ कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, युनियनका सल्लाहकारद्वय तारानाथ दाहाल र धर्मेन्द्र झाले आफ्नो सदस्यता नवीकरण गरेर अभियानको उद्घाटन गरे ।
कार्यक्रमको अध्यक्षता नेपाल प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष महेश गौतमले गरेका थिए । कार्यक्रममा क्रियाशील सञ्चारकर्मीहरूको मात्र सदस्यता नवीकरण र नयाँ सदस्यता दिने घोषणा गरिएको थियो । अध्यक्ष लम्सालले सदस्यता विशेष अभियानले पुराना सदस्यताको व्यवस्थापन र नयाँ क्रियाशील सञ्चारकर्मीलाई युनियनमा आवद्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
युनियनका महासचिव दिलीप पौडेलका अनुसार सदस्यता विशेष अभियान साउन १४ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ । सञ्चार क्षेत्रमा सक्रिय रहेका सञ्चारकर्मीले प्रमाणसहित आवेदन दिएर मात्र नयाँ सदस्यता सिफारिस हुने र क्रियाशील पत्रकारको मात्रै सदस्यता नवीकरण गरिने स्पष्ट पारिएको छ ।
सदस्यता नवीकरण तथा नयाँ सदस्यता स्वीकृतिका लागि शाखाबाट प्रदेश समितिमा र त्यहाँबाट केन्द्रमा पठाइएका फारम, आवश्यक कागजात र शुल्कका आधारमा निर्णय गरिने युनियनले जनाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विरही, सल्लाहकारहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, युनियनका उपाध्यक्ष सलोजना दाहाललगायतले अभियानको महत्वबारे धारणा व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष रोमन आचार्यले गरेका थिए भने सञ्चालन शाखा सचिव सन्तोष अधिकारीले गरेका थिए ।
युनियनका अनुसार अभियान सञ्चालन गर्न देशभरका ७७ शाखा, उपशाखा र प्रतिष्ठान शाखाहरूलाई सर्कुलरमार्फत निर्देशन दिइएको छ ।