राष्ट्रिय कोदो दिवस आज पहिलोपटक मनाइँदै, वैकल्पिक बालिको प्रवर्द्धनमा जोड

कोदोजन्य बालीहरूको आयात घटाउने, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यसहित आज पहिलोपटक राष्ट्रिय कोदो दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।

‘कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाइँदै गरिएको यो दिवसले साना किसानको आयआर्जन वृद्धिसँगै खाद्य र पोषण सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कृषि विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य बाली आयात गरिएको थियो। आयातको यो दर घटाउन तथा स्थानीय उत्पादन प्रवर्द्धन गर्न दिवस महत्त्वपूर्ण हुने विभागको भनाइ छ।

विशेषज्ञहरूका अनुसार, जलवायु परिवर्तनको प्रभाव तथा अनियमित वर्षाका कारण मधेशलगायतका क्षेत्रमा धान रोपाइँ प्रभावित भईरहेका बेला कोदो, चिनो, कागुनो, सामा, जुनेलो, धानकोदो जस्ता कोदोजन्य बाली वैकल्पिक रुपमा लाभदायी बन्न सक्छन्।

बीउ अभावको चिन्ता

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख अनुसार, सुक्खा क्षेत्रका लागि कोदोजन्य बालीहरू उत्कृष्ट विकल्प हुन सक्ने भए पनि, एकैपटक धेरै किसानले यस्ता बाली रोज्न थालेमा बीउ अभावको समस्या देखिन सक्छ।

कम लागत, उच्च लाभ

विज्ञहरूका अनुसार कोदोजन्य बाली कम पानी, थोरै मल र कम मेहनतमा पनि सहजै उत्पादन गर्न सकिने बाली हुन्। यिनको प्रवर्द्धनले खाद्य सुरक्षाका साथै पोषण, वातावरण र स्वास्थ्य सुरक्षामा समेत योगदान पुर्‍याउने उनीहरूको भनाइ छ।

कोदोजन्य बाली प्रवर्द्धनको अभियानलाई एकदिनको दिवसमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय रणनीति बनाइ अघि बढ्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

Comments (0)
Add Comment