जनकपुरधाम साउन १७:तराई-मधेशका जिल्लाहरूमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित बनेपछि विपक्षी दलहरूले मधेश प्रदेश सरकारसँग किसानलाई राहत दिन माग गरेका छन्। शुक्रबार जसपा–नेपाल मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा एक संयुक्त टोलीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई १० बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो।
ध्यानाकर्षणपत्रमा सुख्खाग्रस्त क्षेत्रहरूमा तत्काल सिँचाइको व्यवस्था गर्न, खाद्य सुरक्षाको सम्भावित संकट रोक्न अग्रिम तयारी गर्न तथा संकटग्रस्त किसानलाई कृषि ऋणमा छुट दिलाउन संघीय सरकारसँग पहल गर्न माग गरिएको छ।
प्रमुख प्रतिपक्ष दल जसपा नेपालका नेता यादवसहित माओवादी केन्द्रका युवराज भट्टराई, एकीकृत समाजवादीका मनिष पटेल, राप्रपाकी कञ्चन बिच्छा र संघीय समाजवादीकी विमला अंसारी तरन्नुम सहभागी टोलीले प्रदेश सरकारले किसानका समस्यालाई बेवास्ता गरेको आरोप लगाउँदै तत्काल राहत कार्य अघि बढाउन माग गरेका हुन्।
राप्रपाकी कञ्चन बिच्छाले मधेशमा खडेरीको असरले आमनागरिकमा खानेपानी अभाव र किसानमा खाद्यान्न संकटको अवस्था सिर्जना भएको बताउँदै सरकार गैरजिम्मेवार ढंगले चलेको गुनासो गर्नुभयो। विपक्षी दलहरूले प्रदेश सरकारलाई किसानमुखी नीति अवलम्बन गर्न पनि आग्रह गरेका छन्।