डुरान्ड कपमा निराजनको गोलले त्रिभुवन आर्मीलाई हारबाट जोगायो

स्ट्राइकर निराजन धामीको प्रेरणादायी प्रदर्शनले त्रिभुवन आर्मी फुटबल क्लबलाई भारतमा जारी १३४औं डुरान्ड कप फुटबल प्रतियोगितामा हारबाट जोगाएको छ। जमशेदपुरको टाटा स्पोटर्स कम्प्लेक्समा शनिबार भएको खेलमा आर्मीले लद्दाख फुटबल क्लबविरुद्ध १–१ गोलको बराबरी खेलेको हो।

खेलको सुरुवातमा पछाडि परेको आर्मीलाई बराबरीमा फर्काउने काम ४०औं मिनेटमा निराजनले गरे। काउन्टर अट्याकबाट पाएको थ्रु बल सदुपयोग गर्दै उनले उत्कृष्ट गोल गरे र त्यसपछि क्रिस्टियानो रोनाल्डोको प्रसिद्ध ‘सिउ’ सेलिब्रेसन गरेका थिए। यसअघि लद्दाखले खेलको २३औं मिनेटमा अग्रता लिएको थियो। कर्नर किकबाट आएको क्रसलाई लद्दाखका केन्द्रिय डिफेन्डर सिजुले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सिजु डुरान्ड कपमा गोल गर्ने पहिलो लद्दाखी खेलाडी बनेका छन्।

त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केसीले प्रारम्भिक ११ मा तीन खेलाडी परिवर्तन गरेका थिए। उनले गोलकिपर समित श्रेष्ठको सट्टा विकेश कुथुलाई, आयुस तिम्सिनाको स्थानमा अभिष्कार खड्कालाई र नवयुग श्रेष्ठको ठाउँमा निराजन धामीलाई मैदानमा उतारेका थिए। अर्कोतर्फ लद्दाखका प्रशिक्षक राजन मनीले ४–३–३ को रणनीतिमा अजय, कमलेश र भारान्युलाई अग्रपंक्तिमा खेलेका थिए।

खेलभर आर्मीले बल पोसेसनमा प्रभुत्व जमाए तापनि, अन्तिम नतिजामा जित निकाल्न सकेन। विशेषगरी दोस्रो हाफमा आर्मीले आक्रामक खेल प्रस्तुत गर्दै दुवै फ्लाङ्कबाट लगातार दबाब बनायो। तर, लद्दाखको अनुशासित रक्षापंक्ति र गोलकिपरको चुस्त प्रदर्शनका कारण थप गोल निकाल्न असफल रह्यो।

दुवै टोलीले जारी प्रतियोगितामा पहिलो अंक हात पारेका छन्। त्रिभुवन आर्मीले यसअघि जमशेदपुर फुटबल क्लबसँगको पहिलो खेलमा ३–२ को हार बेहोरेको थियो भने लद्दाखले डुरान्ड कपमा पहिलो पटक सहभागिता जनाइरहेको छ।

अब त्रिभुवन आर्मीले समूह ‘सी’ अन्तर्गत तेस्रो तथा निर्णायक खेल मंगलबार इन्डियन आर्मी फुटबल क्लबसँग खेल्नेछ। सो समूहमा जमशेदपुर ६ अंकसहित शीर्ष स्थानमा छ भने इन्डियन आर्मी पुछारमा रहेको छ।

जारी डुरान्ड कपमा कुल २४ टोली सहभागी छन्। प्रतियोगिता सिंगल राउन्ड रोबिन आधारमा भइरहेको छ, जहाँ समूहका विजेता तथा दुई उत्कृष्ट उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्।

Comments (0)
Add Comment