रुसले नयाँ हाइपरसोनिक मिसाइल ‘ओरेस्निक’ को उत्पादन सुरु, पुटिनद्वारा बेलारुसमा तैनाथ गर्ने घोषणा

साउन १८, मस्को :अमेरिकासँगको चर्किंदो तनावका बीच रुसले आफ्नाे अत्याधुनिक हाइपरसोनिक मिसाइल ओरेस्निक को उत्पादन सुरु गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट पिटर्सबर्ग नजिकैको भलाम टापुमा आयोजित एक कार्यक्रममा उक्त जानकारी दिएका हुन् ।

पुटिनले सन् २०२५ को अन्त्यसम्म बेलारुसमा मिसाइल तैनाथ गर्ने योजना रहेको स्पष्ट पारेका छन् । बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोको उपस्थितिमा उनले भने, “तयारीको काम तीव्र रूपमा अगाडि बढिरहेको छ, र सम्भवत: यो वर्षको अन्त्यसम्म तैनाथी सम्पन्न हुनेछ ।”

पुटिनका अनुसार, ओरेस्निक मध्यम दूरीको ब्यालेस्टिक मिसाइल हो, जसले म्याच १० (१२,३४८ किमी प्रतिघण्टा) को उच्चतम गति हासिल गर्न सक्छ । यो मिसाइल परम्परागत तथा आणविक दुवै प्रकारका युद्धास्त्र बोक्न सक्षम छ ।

रुसी सेनामा औपचारिक रूपमा समावेश भइसकेको यो मिसाइल गत वर्ष नोभेम्बरमा युक्रेनको निप्रोस्थित मिसाइल कारखाना लक्षित गरी प्रयोग गरिएको थियो ।

पुटिनले ओरेस्निकबारे भनिरहेका छन्, “यसले पश्चिमी प्रतिरक्षा प्रणालीलाई झुक्याउन सक्छ । हाम्रो यस्तो हतियारलाई रोक्न लगभग असम्भव छ । यस्ता केही परम्परागत मिसाइल आक्रमण नै आणविक हमलाजस्तै विनाशकारी हुन सक्छन् ।”

विश्लेषकहरूका अनुसार यो मिसाइल पुरानो रुबेज २६ मिसाइलको प्रतिस्थापन पनि हुन सक्छ । यता, युरोपेली देशहरूमा भने यस मिसाइलले सुरक्षा जोखिम बढाएको भन्दै चासो व्यक्त गरिएको छ ।

कार्यक्रमका क्रममा पुटिनले नाटो गठबन्धनलाई चेतावनी पनि दिएका छन् । उनले भने, “यदि नाटोले युक्रेनलाई लामो दूरीका हतियार उपलब्ध गरायो र ती हतियार रूसमाथि प्रयोग भए भने, हामी ओरेस्निकजस्ता प्रणाली प्रयोग गरेर युक्रेन बाहिर पनि जवाफ दिन सक्छौं ।”

पुटिनको यो घोषणासँगै युरोपमा सुरक्षा सतर्कता थपिएको छ भने अमेरिका र उसका साझेदार राष्ट्रहरूबीच रणनीतिक छलफल तीव्र भएको जनाइएको छ ।

Comments (0)
Add Comment