पचरौतामा एमाले संकट: मेयर सिंहका कारण पार्टीभित्र विभाजनको संकेत

कलैया, २० साउन:बाराको पचरौता नगरपालिकामा नेकपा (एमाले) आन्तरिक संकटमा फसेको छ। स्थानीय तहको निर्वाचनमा एमालेबाट विजयी नगरप्रमुख जलंधर सिंह जैसवालको कार्यशैलीका कारण पार्टीभित्रै असन्तुष्टि चुलिएको छ।

नेपाली कांग्रेस परित्याग गरी २०७९ सालको स्थानीय निर्वाचनमा एमालेको टिकटमा निर्वाचित भएका सिंह जैसवालमाथि नातावाद र मनोमानीको आरोप लागिरहेको छ। एमालेका स्थानीय नेताहरू र कार्यकर्ताहरूले उनलाई जनताको अपेक्षा विपरीत आफ्ना नातागोता र निकटवर्तीलाई प्राथमिकता दिएको भन्दै खुलेर विरोध जनाउन थालेका छन्।

एमालेका एक स्थानीय नेताका अनुसार, “नगरपालिकाका ठेक्कापट्टा, अनुदान वितरण, कर्मचारी नियुक्ति लगायतका निर्णयहरूमा पार्टीका स्थानीय नेताहरू बेवास्ता हुँदै आएका छन्। हामीले उनलाई जिताउन तन, मन, धन लगायौं, तर अहिले हामीलाई हेपिएको छ।”

पचरौताका पुराना र समर्पित कार्यकर्ताहरू मेयर सिंह जैसवालको ‘अवसरवादी र व्यक्तिवादी’ शैलीबाट आक्रोशित छन्। पार्टीभित्र दुई धार स्पष्ट रूपमा देखिन थालेका छन्—एक पक्ष नगरप्रमुखका कट्टर समर्थक, भने अर्का पक्ष उनलाई पार्टी अनुशासनविपरीत गतिविधिमा संलग्न व्यक्ति मान्दै विरोधमा उभिएको छ।

विकास निर्माणको ढिलाइ, पारदर्शिताको अभाव, योजना कार्यान्वयनमा सुस्तता, तथा पार्टी बैठकको बहिष्कारजस्ता गतिविधिहरू अहिले पचरौता नगरपालिकामा नियमितजस्तै बनेका छन्। विश्लेषकहरू भन्छन्, “यदि यस्तो अवस्था लामो समयसम्म कायम रह्यो भने पचरौतामा मात्र होइन, मधेश प्रदेशभर एमालेको साखमा असर पर्न सक्छ।”

स्थानीय तहमा जनताले सुशासन र पारदर्शिताको आशा राखेर सिंह जैसवाललाई जिताएका थिए, तर उनीबाट देखिएको व्यवहारले पार्टीभित्रै निराशा र असन्तोष गहिरिँदै गएको छ। एमाले नेतृत्वले समयमै हस्तक्षेप नगरे पार्टी संगठन नै दुई टुक्रा पर्न सक्ने खतरा बढेको राजनीतिक जानकारहरूको ठम्याइ छ। साभार: ekripa.com

Comments (0)
Add Comment