ट्रम्पको चेतावनी: औषधिजन्य वस्तुमा भन्सार शुल्क २५० प्रतिशतसम्म पुग्न सक्ने

वासिङ्टन, एएफपी  अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिजन्य वस्तुहरूमा लगाइने भन्सार शुल्क आगामी दिनहरूमा २५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिनुभएको छ ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा ट्रम्पले प्रारम्भिक चरणमा औषधिमा सानो दरको शुल्क लगाइने भए पनि एकदेखि डेढ वर्षभित्र त्यो दर १५० प्रतिशत र त्यसपछि क्रमशः २५० प्रतिशतसम्म पुग्ने बताउनुभएको हो ।

उहाँले विदेशी अर्धचालक (सेमिकन्डक्टर) सामग्रीमा पनि नयाँ भन्सार दर लगाउने तयारी भइरहेको जनाउनुभएको छ । ट्रम्पले भारतमाथि समेत उच्च दरमा आयात शुल्क लगाउने योजना बनाइएको खुलासा गर्नुभयो । भारतले रुसबाट कच्चा तेल खरिद गर्न थालेपछि यस्तो निर्णय लिन लागिएको उहाँको दाबी छ ।

राष्ट्रपति ट्रम्पका अनुसार यो निर्णय केही घण्टाभित्रै कार्यान्वयनमा आउने सम्भावना रहेको छ ।

यसअघि सन् २०२५ को अप्रिल महिनामा ट्रम्प प्रशासनले आफ्ना प्रमुख व्यापारिक साझेदारहरूमाथि १० प्रतिशतको आधारभूत भन्सार शुल्क लागू गरिसकेको थियो । त्यसैगरी, आयातित फलाम र एल्युमिनियममा पनि ५० प्रतिशत भन्सार लगाइसकिएको छ ।

विश्लेषकहरूका अनुसार ट्रम्पको यस्तो कदमले आगामी व्यापारिक सम्बन्धहरूमा तनाव थप्न सक्छ भने अमेरिकी बजारमा औषधिको मूल्य पनि उच्च बन्ने सम्भावना रहेको छ ।सम्भार:उज्यालो अन्लाईन

Comments (0)
Add Comment