वीरगंज, भदौ ९ : हैजाको संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन वीरगंज महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रमा जथाभावी औषधीजन्य सामग्री वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिनुभएको छ । उहाँले हैजालाई “हौवा” बनाएर व्यापार नगर्न पनि स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूसँग आग्रह गर्नुभएको छ ।
वीरगंजमा आयोजित अन्तरक्रियात्मक छलफलमा प्रमुख सिंहले हैजा नियन्त्रणका सबै कार्य एकीकृत प्रयासमार्फत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले केही निजी अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास गरेको पाइएको भन्दै सरकारले नै निशुल्क परीक्षण किट उपलब्ध गराउने स्पष्ट पार्नुभयो ।
छलफलमा सहभागी जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई नै उपचारको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै, निजी स्वास्थ्य संस्थाले समेत समान मापदण्डमा सेवा दिनुपर्ने बताए । मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गर्ने र आइसियुमा रहेका बिरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तयारी गरिएको पनि जानकारी दिइयो ।
स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखा प्रमुख डा. प्रविण झाले हैजाको परीक्षण बारम्बार गर्न आवश्यक नभएको स्पष्ट पार्दै, “एक पटक पुष्टि भइसकेपछि अन्य समान लक्षण भएका बिरामीलाई उपचारमै ध्यान दिनुपर्छ” भन्नुभयो । उहाँले स्वास्थ्यकर्मीहरूलाई उपचारलाई नै प्राथमिकता दिन आग्रह गर्नुभयो ।
यसैबीच, स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगंज पुगेर हैजाको अवस्थाबारे अवलोकन गर्ने कार्यक्रम रहेको छ । उहाँ दिउँसो २ बजे नारायणी अस्पताल पुग्ने र त्यसपछि महानगर तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।
हिजोदेखि नै स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली वीरगंजमा खटिइसकेको छ र हैजा नियन्त्रण तथा उपचार गतिविधि प्रत्यक्ष अनुगमन भइरहेको जनाइएको छ