अनलाइन प्रणालीमार्फत खाद्य उद्योग दर्ता तथा अनुमतीपत्र सेवा सुरु

काठमाडौँ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योग दर्ता, अनुमतीपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एण्ड फिड इन्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली शुभारम्भ गरेको छ । विभागको वेभसाइटमार्फत उपलब्ध यो प्रणाली सरकारी सेवालाई अनलाइनमार्फत सहज र पारदर्शी बनाउन विकसित गरिएको हो।

मंगलबार आयोजित उद्घाटन कार्यक्रममा विभागका महानिर्देशक सञ्जीव कुमार कर्माचार्यले नेफिल्स प्रणालीको औपचारिक शुभारम्भ गर्दै यसको महत्वबारे प्रकाश पारे। कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका ७० भन्दा बढी खाद्य उद्योगी तथा विभिन्न छाता संगठनका प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूलाई डेमोन्स्ट्रेसन र भिडियोमार्फत प्रणाली प्रयोगबारे जानकारी गराइएको थियो।

उद्योगी व्यवसायीहरूले नेफिल्स प्रणालीबाट छिटो, छरितो र पारदर्शी सेवा प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्। तर, यसको सफलताका लागि विभागीय कर्मचारीहरूको तत्परता र सहयोग महत्वपूर्ण हुनेमा उनीहरूले जोड दिए।

महानिर्देशक कर्माचार्यका अनुसार यो प्रणाली ‘पेपरलेस’ र ‘फेसलेस’ हुने भएकाले सेवाग्राहीले निवेदनको स्थिति अनलाइनमार्फत नै हेर्न सक्नेछन्। साथै, इमेलमार्फत सूचना प्राप्त हुने, अभिलेखहरू सुरक्षित र डिजिटल रूपमा भण्डारण हुने, पारदर्शिता र जवाफदेहिता वृद्धि हुने जस्ता फाइदाहरू यसबाट हुनेछन्।

उनले देशका जुनसुकै स्थानबाट पनि इन्टरनेट प्रयोग गरी सेवामा पहुँच पाउन सकिने भएकाले कार्यालय धाउनुपर्ने झन्झट कम हुने र समय, श्रम तथा खर्चमा ठुलो बचत हुने बताए।

हाल नेफिल्स प्रणाली काठमाडौँ र हेटौँडास्थित कार्यालयहरूबाट सञ्चालनमा आएको छ भने विभागले चाँडै नै यसलाई देशभरका सबै कार्यालयहरूमा विस्तार गर्ने तयारी गरेको छ। सेवाग्राहीको सुझाव र प्रतिक्रियालाई आत्मसात गर्दै प्रणाली निरन्तर सुधार गर्दै लैजाने प्रतिबद्धता विभागले व्यक्त गरेको छ।

Comments (0)
Add Comment