वीरगञ्ज, भदौ १८ :हैजाले वीरगञ्ज आक्रान्त भइरहेका बेला खानेपानी मन्त्री प्रदीप यादवविरुद्ध आक्रोश पोखेकै आधारमा हिरासतमा परेकी किरण साहमाथि सत्ता र शक्तिको दुरुपयोग भएको आरोप उठेको छ।
गत शुक्रबार परिवारका बिरामी सदस्यको कुरुवा बसेकै क्रममा मन्त्रीसँग गुनासो राखेकी २२ वर्षीया किरणलाई प्रहरीले हिरासतमा पठाएको थियो। त्यसपछि मंगलबार मन्त्री यादवकै निर्देशनमा जसपा निकट महिला नेतृहरूलाई उतारेर जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गरिएको थियो।
प्रदर्शनकारीलाई ओसारपसार गर्न मन्त्रीले सरकारी गाडी प्रयोग गराएको आरोप लागेको छ। बा १ झ ९०२, बा २ झ २०४१ र बा २ झ २७७० नम्बरका तीनवटा सरकारी गाडीमा सहभागीहरूलाई ल्याइएकाले सरकारी स्रोतसाधनको दुरुपयोग भएको भन्दै चर्को आलोचना भएको छ।
जसपा नेतृ तथा खानेपानी संस्थान सञ्चालक समिति सदस्य मधुमाया यादव र सल्मा खातुनको नेतृत्वमा प्रदर्शनमा सहभागीहरूले “मन्त्री प्रदीप यादव जिन्दावाद”, “दोषीलाई कारबाही गर” जस्ता नारासमेत लगाएका थिए।
यस घटनाप्रति नागरिक समाजका अगुवा छठु साहले एक पीडित नागरिकले मात्र गुनासो गर्दा कानुनी मुद्दा बनाउनु मन्त्रीको गलत निर्णय भएको टिप्पणी गरेका छन्। उनका अनुसार, “देशका शीर्ष नेतामाथि समेत नागरिकले सार्वजनिक रूपमा आलोचना गरेका छन्, तर उनीहरूलाई कानुनी दायरामा पुर्याइएको छैन। मन्त्रीले सकारात्मक भूमिका खेल्नुको सट्टा कानुनी कारबाहीतर्फ धकेले, जुन गलत हो।”
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार किरण साहविरुद्ध विद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिएको तथा अफवाह फैलाएको मुद्दामा अनुसन्धान भइरहेको छ। अदालतले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।
यसअघि किरणको समर्थनमा उनकी आमा सावित्री साह र जसपा निकट महिला नेतृहरूले सोमबार प्रदर्शन गरेका थिए भने मंगलबार अर्कै समूहले उल्टै किरणविरुद्ध प्रदर्शन गरेको थियो। किरणका दाजु प्रमोद साहले मन्त्रीलाई अभिभावक सम्झेर समस्या सुनाउँदा बहिनीलाई हिरासतमा पठाइएकोमा गहिरो दुःख व्यक्त गरेका छन्।