काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनको सरोकारवाला दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई वार्ताका लागि सम्बद्ध पक्ष (स्टेकहोल्डर) मान्ने अभिव्यक्ति दिएपछि केही जेनजी आन्दोलनकारी वार्ता टेबल छाडेर बाहिरिएका छन्।
जेनजी आन्दोलनकारीमध्येकी एक रक्षा बमले नेपाली सेनाको मुख्यालयबाट बाहिरिँदै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया सार्वजनिक गरेकी हुन्।
‘प्रधानसेनापतिले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस् भन्नुभयो,’ उनले लेखेकी छन्, ‘उहाँहरू स्टेकहोल्डर हुन् भनेर स्वयम् प्रधानसेनापतिले भनीसकेपछि जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै मुख्यालयबाट बाहिरिएका हौं।’
उनका अनुसार आन्दोलनकारीहरू वैकल्पिक छलफलका लागि तयारी गरिरहेका छन्।