प्रधानमन्त्रीको ढिलाइले अवस्था चर्किएको कांग्रेसको आरोप

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्न ढिलाइ गरेकाले मुलुकको राजनीतिक अवस्था थप चर्किएको आरोप लगाएको छ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको ढिलाइका कारण अनियन्त्रित अवस्था सिर्जना भएको दाबी गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमार्फत पदत्यागको आग्रह र दबाबलाई प्रधानमन्त्रीले स्वीकार्न ढिलाइ गर्दा परिस्थिति थप चर्किएको छ। यसबाट भएको मानवीय क्षतिले सिंगो नेपाल र संसारभरका नेपाली स्तब्ध र दुःखी भएका छन्।”

कांग्रेसले जेनजी पुस्ताको भावनाअनुरूप निष्कर्ष निकाल्न आग्रह गर्दै संविधानबमोजिमै समाधान खोज्नुपर्नेमा जोड दिएको छ। “विधिविहीनताले अराजकता बढाउँछ, त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षले वैधानिक बाटो अपनाउनुपर्छ। नयाँ राजनीतिक संरचना बनाउँदा पनि संवैधानिक रिक्तता आउन नदिने उपाय खोजिनुपर्छ। त्यसमा हाम्रो समर्थन रहनेछ,” विज्ञप्तिमा उल्लेख छ।

पार्टीले लोकतान्त्रिक बाटोबाटै बेथितिको अन्त्य गर्दै समाधानको मार्गचित्र तय गर्नुपर्नेमा जोड दिएको छ।

Comments (0)
Add Comment