भ्रष्टाचार र कुशासनविरुद्ध निर्णायक आन्दोलनको आवश्यकता : अध्यक्ष थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार, कुशासन र मनपरितन्त्र चरम सीमा नाघेकाले आन्दोलनमार्फत विस्फोट भएको दाबी गरेका छन्।

शुक्रबार पार्टी आबद्ध किसान संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारविरुद्ध तत्काल प्रभावकारी कदम नचालिए अर्को ठूलो आधिबेहरी आउन सक्ने चेतावनी दिए। संविधानप्रति असहमति जनाउँदै थापाले यसलाई अझै सर्वस्वीकार्य र सबै नेपालीको साझा संविधान बनाउन नसकिएको टिप्पणी गरे।

“१० वर्षको राजनीतिक अभ्यास र अनुभवले देखाएको पाठ सिकेर सबै नेपाली शक्ति र विचार अटाउने राजनीतिक प्रणाली निर्माण गर्न अपरिहार्य छ,” उनले भने। हालै भएको जेन–जि आन्दोलनले परिवर्तनको ढोका खोलिदिएको बताउँदै थापाले परिवर्तन विरोधी तत्वहरूले आन्दोलनको भावनालाई अपहरण गरेर यथास्थितिलाई निरन्तरता दिन खोजिरहेकोमा आपत्ति जनाए।

उनका अनुसार आन्दोलनमा ७४ जनाको दु:खद निधन र खर्बौं मूल्यबराबरको सार्वजनिक तथा निजी सम्पत्ति नष्ट हुनु केवल सरकार परिवर्तनका लागि मात्र नभएको हो। “विद्यमान व्यवस्थामा आमूल सुधार चाहने नेपाली जनताको भावनालाई कसैले पनि दबाउन सक्दैन,” उनले जोड दिए।

प्रदेश संरचना खारेजी तथा हिन्दू अधिराज्य पुनःस्थापना अब ढिलो नगरी गर्नुपर्नेमा समेत थापाले आग्रह गरे।

कार्यक्रममा डा. विष्णु भण्डारी, भाष्कर भद्रा, डम्बर शिवाकोटी लगायतका नेताहरूले पनि आफ्ना धारणा राखेका थिए।

Comments (0)
Add Comment