काठमाडौं :नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार सम्हालेलगत्तै विज्ञान, प्रविधि तथा नवप्रवर्धनलाई विशेष प्राथमिकता दिँदै चारवटा सल्लाहकार समिति गठन गर्ने निर्णय गरेका छन् । उनले आर्टिफिसियल इन्टलिजेन्सलगायतका नयाँ प्रविधि तथा नवप्रबर्धनसम्बन्धी अध्ययन गरी मन्त्रालयलाई सुझाव दिने उद्देश्यले समितिहरू बनाउने निर्णय गरेका हुन् ।
मन्त्री पुनले विज्ञान सचिव विश्वबाबु पुडासैनीले पेस गरेको टीप्णीमा हस्ताक्षर गर्दै सो निर्णय गरेका हुन् । समितिको प्रतिवेदनका आधारमा कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने उनको भनाइ छ ।
यसअघि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले आफू अप्रत्याशित रूपमा मन्त्री बनेको भन्दै अहिले नै धेरै नबोल्ने बताए । ‘म शिवजी भएदिएको भए त्रिनेत्र लगाएर यसो गर्छु भन्ने थिएँ, तर म त किताब बेच्दै आएको साधारण मान्छे हुँ, तत्काल ठोकुवा गरेर भन्न सक्दिनँ,’ उनले जिस्कँदै भने ।
पुनले मन्त्रालयमै ओछ्यान लगाएर बस्ने, त्यहीँ खाना पकाएर खाने र निरन्तर काम गर्ने बताएका छन् । ‘सेवा सुविधा मलाई केही पनि चाहिँदैन, म काम गर्न आएको हुँ,’ उनले भने ।
शिक्षासँग समेत जोडिएको जिम्मेवारी पाएका मन्त्री पुनले शिक्षामा सुधारबारे तत्काल टिप्पणी नगर्ने बताएका छन् । उनले नयाँ विषय र समस्याहरूलाई अध्ययन गरेर मात्र आवश्यक धारणा दिने बताए ।