स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीकै जिम्मामा, डा. मिश्रा ‘होल्ड’

काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीको जिम्मामा आएको छ। आइतबार बेलुकी राष्ट्रपति समक्ष मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नियुक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्राचारपछि रोकिन पुगेको हो।

डा. मिश्राको नाम अख्तियारमा दर्ता रहेका मुद्दा विचाराधीन अवस्थामा रहेको कारण प्रधानमन्त्रीले जोखिम नलिने निर्णय गरेकी हुन्। यससँगै सोमबार मन्त्रिपरिषद् विस्तार हुँदा पनि स्वास्थ्य मन्त्रालयमा नयाँ मन्त्री नबनी प्रधानमन्त्री स्वयंले मन्त्रालय सम्हाल्ने घोषणा गरेकी छन्।

यसअघि डा. मिश्राले मन्त्री बन्ने आशमा स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिइसकेकी थिइन्। तर नियुक्ति रोकिनुका कारण अब उनको पदावधि र भविष्यबारे अनिश्चितता बढेको छ।

जेनजेड प्रोटेस्टका मृतक तथा पीडित परिवार संघर्ष समितिले भने सरकारलाई आलोचना गर्दै कुनै छलफल नगरी विवादित नाम सिफारिस गरिएको आरोप लगाएको छ। समितिले डा. जगत विकलाई स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरे पनि सरकारको निर्णय फरक भएको उनीहरूको भनाइ छ।

गत केही वर्षयता स्वास्थ्य मन्त्रालय औषधि खरिद, कर्मचारी नियुक्ति, बीमा कार्यक्रमलगायतका विषयमा निरन्तर विवादमा तानिँदै आएको छ। विज्ञहरूले संवेदनशील मन्त्रालयलाई अस्थायी रूपमा प्रधानमन्त्रीले सम्हाल्नु भन्दा दीर्घकालीन दृष्टिले योग्य र विवादरहित नेतृत्व आवश्यक रहेको सुझाव दिएका छन्।

प्रधानमन्त्रीको निर्णयसँगै अहिले आम नागरिकको ध्यान डा. मिश्राको राजीनामा पछि उनको पदावधि र भविष्य के हुने भन्ने प्रश्नतर्फ केन्द्रित भएको छ।

Comments (0)
Add Comment