अर्थमन्त्री खनालसँग भारत र चीनका राजदूतको भेट

काठमाडौं : अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग मंगलबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत चेङ्ग सोङ्गले छुट्टाछुट्टै भेटघाट गरेका छन्। हालसालै देखिएको जेन–जी आन्दोलनपश्चात दुई छिमेकी मुलुकका राजदूतहरूको यो भेटलाई महत्वपूर्ण कूटनीतिक पहलका रूपमा लिइएको छ।

भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको ऐतिहासिक र घनिष्ठ सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई दिँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरे। उनले नेपालमा विद्यमान विशेष परिस्थितिमा दातृ राष्ट्रसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए। राजदूत श्रीवास्तवले भारत नेपालसँगको विशेष सम्बन्धलाई कायम राख्दै वर्तमान विषम परिस्थितिमा समेत भारतले सबै प्रकारको सहयोग गर्ने विश्वास दिलाए। साथै, उनले भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजनामा तीव्रता दिने र नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्रलाई प्रोत्साहित गर्न भारत तत्पर रहेको बताए।

त्यसैगरी चीनका राजदूतसँगको भेटमा मन्त्री खनालले चीनलाई नेपालका लागि असल छिमेकीको रूपमा स्मरण गर्दै निरन्तर सहयोगका लागि आभार व्यक्त गरे। उनले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने सरकारको लक्ष्यबारे जानकारी दिँदै चीनसँगको आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउन इच्छुक रहेको उल्लेख गरे। मन्त्री खनालले चीनसँग बैंकिङ्ग क्षेत्रमा सहकार्य विस्तार गर्न, चीनको बैंक शाखा नेपालमा स्थापना गर्न, निकासी भुक्तानी सरलीकरण गर्न तथा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न आग्रह गरे।

जवाफमा राजदूत चेङ्ग सोङ्गले चीनले सदैव नेपाली जनताको निर्णयलाई सम्मान गर्ने र नेपालप्रति सहयोग निरन्तर रहने बताए। उनले चीनको सहयोगमा निर्माणाधीन परियोजनाहरू सन्तोषजनक रूपमा अघि बढिरहेको जानकारी दिँदै परिस्थिती अनुकूल भएपछि चिनियाँ लगानीकर्तासँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताए।

Comments (0)
Add Comment