मेरो कुनै व्यक्तिगत आम्दानी छैन, शुभचिन्तकको सहयोगले परिवार पाल्छु : मन्त्री पुन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले आफ्नो परिवारलाई करोडौं खर्च गरेर विदेशमा पढाएको भन्ने अफवाह असत्य भएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत व्यापक बनेको हल्लाको खण्डन गर्दै उनले आफूलाई व्यक्तिगत आम्दानी नै नभएको दाबी गरेका छन्।

बिहीबार फेसबुकमा लेखिएकाे लामो पोस्टमार्फत मन्त्री पुनले अमेरिकाबाट फर्किएको ३२ वर्षयता कुनै निजी आम्दानी नगरेको उल्लेख गरेका छन्। उनका अनुसार आफू, पत्नी र छोरीहरूको दैनिक खर्च शुभचिन्तक साथीभाइ र सहयोगीहरूले नै बेहोर्दै आएका छन्।

मन्त्री भए पनि तलब–भत्ता नलिने र आवतजावतका लागि लाग्ने हवाई, बस वा ट्याक्सी भाडा समेत व्यक्तिगत रूपमा तिर्ने गरेको उनले स्पष्ट पारे।

पुनले जनताबाट संकलित सहयोगकै आधारमा आफूले सञ्चालन गर्दै आएका सामाजिक कार्यहरूको उदाहरणसमेत प्रस्तुत गरेका छन्। तीमध्ये २०० भन्दा बढी गाउँमा इन्टरनेट पुर्‍याउने, सात वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्रमार्फत प्रतिभा निःशुल्क हुर्काउने, कोरोना महामारीका बेला स्वास्थ्य सामग्री वितरण गर्ने र ३० वर्षदेखि बन्द वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्ने कामहरू प्रमुख छन्।

“मेरो निजी जीवन र आर्थिक अवस्थाबारे अझ विस्तृत बुझ्न चाहनेले मेरो आत्मकथा पढ्न सक्छन्,” मन्त्री पुनले पोस्टमार्फत उल्लेख गरेका छन्।

Comments (0)
Add Comment