जेन–जी आन्दोलनबाट आएका युवाहरूलाई समेटेर मन्त्रिपरिषद् पुनः विस्तार गर्ने तयारी

काठमाडौँ— प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनबाट आएका युवाहरूलाई समेटेर मन्त्रिपरिषद् पुनः विस्तार गर्ने तयारी अघि बढाएकी छन्। प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार सोमबारसम्म चार नयाँ मन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ। प्राप्त जानकारीअनुसार, नयाँ मन्त्रीका रूपमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोमको नाम अन्तिम गरिएको छ। स्रोतका अनुसार, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गुप्तालाई युवा तथा खेलकुद, रामलाई स्वास्थ्य तथा जनसंख्या, र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ।

तर, प्रधानमन्त्री कार्कीले टासी ल्हाजोमको नामबारे अन्तिम छलफल जारी राखेकी छन्। हुम्लाको लिमि भ्यालीकी ल्हाजोम जलवायु परिवर्तनका मुद्दामा सक्रिय अभियन्ता हुन्। दिल्ली विश्वविद्यालयको हिन्दु कलेजबाट स्नातक अध्ययन गरेकी उनले आफ्नै गाउँको समस्या देख्दै जलवायु न्यायका विषयमा आवाज उठाउँदै आएकी हुन्। संस्कृति मन्त्रालयका भावी मन्त्रीका रूपमा प्रस्तावित गणपतिलाल श्रेष्ठ ऐतिहासिक सम्पदा संरक्षणका अभियन्ता हुन्। उनले रानीपोखरी, पशुपति क्षेत्र, बालगोपालेश्वर मन्दिर र खुलामञ्चको संरक्षणका अभियानमा नेतृत्व गर्दै कंक्रीटिकरण र व्यावसायीकरणको विरोध गर्दै आएका छन्।

त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयका लागि प्रस्तावित बब्लु गुप्ता ‘हन्ड्रेड ग्रुप’ नामक सामाजिक संस्थामार्फत शिक्षादेखि स्वास्थ्य सहयोगसम्मका अभियानमा सक्रिय छन्। कोभिड–१९ महामारीको समयमा उनले “नि:शुल्क खाना अभियान” र “कपडा बैंक” सञ्चालन गरेका थिए।स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउन लागेका डा. रामजी राम रौतहटका चमार समुदायका पहिलो डाक्टर हुन्। आर्थिक अभाव र सामाजिक चुनौतीबीच पढाइ पूरा गरेका उनी अब सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने योजनासहित मन्त्री बन्ने तयारीमा छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार, जेन–जी आन्दोलनका अन्य युवाहरुलाई पनि प्रधानमन्त्रीको सचिवालयमा विशेष सल्लाहकार वा सहायकको रूपमा समावेश गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री सुशीला कार्की २७ भदौमा अन्तरिम सरकारको नेतृत्वमा नियुक्त भएकी थिइन्। त्यसयता उनले दुईपटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन्। हाल उनका सहित आठ सदस्यीय मन्त्रिपरिषद् रहेको छ, नयाँ चार मन्त्री थपिएपछि यो संख्या १२ पुग्नेछ।

 

Comments (0)
Add Comment