कोभिडको नयाँ खुलासा: ‘शुक्राणु’ मार्फत भावी पुस्तामा ‘चिन्ता’ सर्ने खतरा!

एजेन्सी- हालै प्रकाशित एक नयाँ अध्ययनले कोभिड–१९ भाइरसले मुसाहरूको शुक्राणुमा परिवर्तन ल्याउन सक्ने र यसले गर्दा उनीहरूका सन्तानमा चिन्ताजनक व्यवहार बढाउन सक्ने देखाएको छ। यो निष्कर्षले महामारीका दीर्घकालीन पुस्तागत प्रभावहरूबारे गम्भीर प्रश्नहरू उठाएको छ।

अस्ट्रेलियाको मेलबर्नस्थित फ्लोरे इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड मेन्टल हेल्थका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन प्रतिष्ठित जर्नल नेचर कम्युनिकेसन्स मा प्रकाशित भएको छ। अध्ययनमा भाले मुसाहरूलाई कोभिड–१९ भाइरसले सङ्क्रमित गरियो र त्यसपछि असङ्क्रमित पोथी मुसाहरूसँग प्रजनन गराएर सन्तानहरूको व्यवहार र मस्तिष्कीय विकासमा परेको प्रभावको अध्ययन गरिएको थियो।

अध्ययनकी मुख्य लेखिका डा. एलिजाबेथ क्लेम्यानले सङ्क्रमित पिताबाट जन्मिएका सन्तानहरूले असङ्क्रमित पिताका सन्तानहरूको तुलनामा बढी चिन्ताजनक व्यवहार प्रदर्शन गरेको पत्ता लगाएको बताइन्। सङ्क्रमित पिताबाट जन्मिएका सबै सन्तानहरूमा समान परिवर्तनहरू देखिए पनि, विशेष गरी पोथीहरूले मस्तिष्कको भावनात्मक नियन्त्रणमा भूमिका खेल्ने हिप्पोक्याम्पस क्षेत्रमा केही महत्त्वपूर्ण जीनहरूको क्रियाशीलतामा उल्लेखनीय परिवर्तन देखाए।

सह–वरिष्ठ अनुसन्धानकर्ता डा. क्यारोलिना गुबर्टले यी परिवर्तनहरू एपिजेनेटिक उत्तराधिकार र मस्तिष्क विकासमा हुने असन्तुलनका कारण सन्तानमा देखिएको बढी चिन्ताको स्रोत हुन सक्ने बताएकी छन्। अनुसन्धानका प्रमुख लेखक डा. एन्थोनी हान्नानले यो अध्ययनले कोभिड–१९ सङ्क्रमणले पिताको शुक्राणुको आरएनएमा अणु–स्तरमा परिवर्तन ल्याउने देखाएको बताए, जसले मस्तिष्क विकाससँग सम्बन्धित जीनहरूको नियमनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

फ्लोरे इन्स्टिच्युटका अनुसार, यो अध्ययन कोभिड सङ्क्रमणले भावी पुस्ताको व्यवहार र मस्तिष्क विकासमा दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना देखाउने प्रकारको पहिलो प्रमाण हो। डा. हान्नानले यी निष्कर्षहरू महत्त्वपूर्ण रहेको बताउँदै, यदि यस्ता परिवर्तनहरू मानवमा पनि दोहोरिए भने यसले विश्वभरका लाखौँ बालबालिकाको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरे। यद्यपि, अनुसन्धानकर्ताहरूले मानिसमा पनि यस्ता परिवर्तनहरू हुन्छन् कि हुँदैनन् भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको भन्दै सावधानीपूर्वक निष्कर्ष निकालेका छन् ।

Comments (0)
Add Comment